राजनीति

१६ वर्षमै सरकारी जागिर खाने व्यवस्था गर्न सांसदको प्रस्ताव



काठमाडौँ, १५ असार । सांसदहरुले १६ वर्षमै सरकारी जागिर खाने व्यवस्था गर्न माग गर्दै उनीहरुले निजामति सेवा प्रवेशका लागि उमेरको हद हटाई शैक्षिक योग्यतालाई मात्र उल्लेख गर्नुपर्ने बताएका छन ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा ऐनमाथिको छलफलमा सांसदहरुले १६ वर्षमा व्यक्तिले नागरिकता लिने भएकाले १६ वर्षदेखि नै सेवा प्रवेशको व्यवस्था गर्नुपर्ने बताए ।

सदस्यहरुले १८ वर्षे उमेर हदमाथि प्रश्न उठाएपछि सभापति शशी श्रेष्ठले निजामति सेवामा १६ वर्षमै प्रवेशको व्यवस्था राख्दा अन्य ऐनसँग बाझिन्छ कि बाझिदैन भनी प्रश्न राखिन् । उनले १६ वर्षको उमेर हद राख्दा अन्य ऐनसँग बाझिने वा नबाझिने हेरेर जमानकारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएकी छन् ।