काठमाडौं, ३ चैत । विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति तथा व्यवस्थापन शाखाका अनुसार फागुनमा सात हजार दुई सय ९२ विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका हुन् । यीमध्ये आधाभन्दा बढी जापानमा भाषा अध्ययनका लागि जान खोजेका विद्यार्थी हुन् ।
‘अहिलेसम्म नआएको संख्या अनपेक्षित रूपमा बढ्यो,’ शाखा प्रमुख डिल्लीश्वर प्रधानले भने, ‘सबैभन्दा बढी जापानका लागि नो अब्जेक्सन लेटर लगेका छन् । किन यति धेरै आकर्षण भयो भन्ने थाहा छैन । तर, जापानले कोटा बढाएको भन्ने सुनिएको छ ।’ उनका अनुसार अघिल्लो वर्ष फागुनमा तीन हजार पा“च सय विद्यार्थीले नो अब्जेक्सन लेटर लगेकोमा यो वर्ष दोब्बरले बढेको हो ।
अमेरिका जान खोज्ने न्यून
अघिल्ला वर्षमा अमेरिका अध्ययनमा जान चाहने विद्यार्थी संख्या धेरै थियो । तर, फागुनमा २१ जनाले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । अमेरिकी राष्ट्रपति डोनान्ड ड्रम्पको आप्रवासी नीति फेरिएका कारण विद्यार्थीले भिसा आवेदन गर्नसमेत छाडेका छन् । नो अब्जेक्सन लेटर लिने संख्याका आधारमा १६औँ स्थानमा अमेरिका छ ।
‘अमेरिकामा डोनान्ड ट्रम्प राष्ट्रपति भएपछि पनि विद्यार्थी भिसालाई कडाइ गरिएको छैन,’ डल्फिन एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध–निर्देशक प्रेम पाण्डेले भने, ‘तर, हल्लाका कारण अध्ययनका लागि आवेदन गर्नेको संख्या कम भएको छ ।’ एकेडेमिक प्रतिशत तथा आइइएलटिएस र स्याटमा राम्रो भएमा छात्रवृत्ति पाइने सम्भावना बढी हुने उनी बताउँछन् ।
कुन महिना कतिले लगे नो अब्जेक्सन लेटर ?
यस वर्ष सबैभन्दा बढी फागुनमा सात हजार दुई सय ९२ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । साउनमा तीन हजार ८३, भदौमा चार हजार चार सय २१, असोजमा दुई हजार ६ सय ६९, कात्तिकमा दुई हजार दुर्य सय ३९, मंसिरमा चार हजार चार सय ३५, पुसमा तीन हजार आठ सय ७९ र माघमा तीन हजार पाँच सय एकजनाले नो अब्जेक्सन लेटर लगेको शिक्षा मन्त्रालयको तथ्यांक छ ।
अध्ययनको बहानामा कामदार बन्दा समस्या
अध्ययनको नाममा कामदार बन्ने उद्देश्यले विभिन्न मुलुकमा गएका विद्यार्थीले समस्या भोग्ने गरेको विदेशस्थित नेपाली राजदूतावासले शिक्षा मन्त्रालयमा जानकारी गराएका छन् । उनीहरूले केही देशका लागि नो अब्जेक्सन लेटर जारी गर्दा जोखिमको मूल्यांकन गर्नसमेत ध्यानाकर्षण गराएका छन् ।
ब्राजिलस्थित नेपाली राजदूतावासले चिलीको एसइके युनिभर्सिटीमा गराइने अध्ययन र तहबारे २० फागुनमा परराष्ट्र मन्त्रालयको युरोप तथा अमेरिका महाशाखालाई पत्राचार गरेको छ । पत्रमा चिली, ब्राजिल तथा अन्य दक्षिण अमेरिकी देशका सन्दर्भमा अध्ययनमा पुगेका विद्यार्थी संकटग्रस्त भएकाले विचार गरेर मात्र अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाब छ ।
दूतावासको पत्रमा भनिएको छ, ‘गत वर्ष काठमाडौंको एउटा एजुकेसन कन्सल्टेन्सीको झुटो प्रलोभनमा परी अध्ययन भिसामा चिली पुगेर अलपत्र परेका ४२ जना विद्यार्थीबाट प्राप्त गुनासोसमेतलाई मध्यनजर गर्दा अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्य राखी कुनै पनि नेपाली विद्यार्थी चिली, ब्राजिल तथा दक्षिण अमेरिकी मुलुक आएमा उनीहरू संकटग्रस्त बन्ने र बनिरहेको हुनाले यसबारे ख्याल गरेर मात्र एनओसी जारी गर्न उपयुक्त हुने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’ गत वर्ष काठमाडौंको बानेश्वरस्थित अहेड इन्टरनेसनल एजुकेसन प्रा।लि।को झुटो प्रलोभनमा चिली पुगेर अलपत्र परेका विद्यार्थीले दूतावासमा उजुरी गरेका थिए ।
बढी आकर्षण देखिएका १० देश
शिक्षा मन्त्रालयको फागुनसम्मको रेकर्डअनुसार जापानका लागि ३,६१४, अस्ट्रेलियाका लागि २,०६९, भारत ५१८, डेनमार्क ८१, दक्षिण कोरिया ७८, बंगलादेश ७५, न्युजिल्यान्ड ६५, क्यानडा ४५, पोल्यान्ड ४१ र चेक रिपब्लिकका लागि ३९ विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका छन् । फागुनमा ४२ देशमा अध्ययनमा जान विद्यार्थीले अनुमति पाएका छन् । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्