राजनीति

एक घर, एक धारा : मन्त्री मगर



काठमाडौँ, २१ असार । खानेपानीमन्त्री बीना मगरले तराईरमधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउँदै एक घर, एक धारा बनाउने मन्त्रालयको नीति रहेको जानकारी गराउनुभएको छ ।

राष्ट्रियसभामा शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई काम तीब्र रुपमा अगाडि बढेको बताउँदै दोस्रो चरणको मेलम्ची खानेपानी आयोजनाको काम पनि जारी नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढुक्क हुनुहोस्, अब मेलम्चीको पानी उपत्यका आउँछ ।’

सन् २०३० सम्म खानेपानी र सरसफाइसम्बन्धी दीगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, “आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत र सरसफाइको पहुँच ९९ जनसङ्ख्यामा पुगेको छ । अबको कार्य पुगेको सेवालाई गुणस्तरीय र भरपर्दो बनाउनु हो ।”