राजनीति

सिरियल किलर ‘बादशाह’लाई ११७ वर्ष जेल सजाय



काठमाडौँ, २२ असार । आठ व्यक्तिको हत्या, अपहरण र डकैतीमा अदालतबाट १ सय १७ वर्षको जेल सजायको फैसला भएर फरार रहँदै आएका कपिलवस्तु मायादेवी गाउँपालिकाका नसिम खाँ मुसलमान उर्फ ‘बादशाह’ शनिबार पक्राउ परेका छन् ।

नेकपाका संगठित सदस्य जाबेद बादशाह उपनामका मुसलमान राजनीतिकै आडमा जोगिँदै आएका थिए । कपिलवस्तुमा व्यक्ति हत्यासहित लुटपाट र अपहरणका घटनाका अपराधीका रूपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो । उनी राजधानीको बानेश्वरबाट पक्राउ परेका हुन् । उनलाई शनिबार नै कपिलवस्तु प्रहरीको जिम्मा लगाइएको छ ।

मुसलमान नेपालमा अपराध गरी भारतको अलिगढवा बस्दै आएका थिए । उनलाई पक्राउ गर्न भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायले पहल गरेका थिए । तर, त्यतिबेला उनी राजनीतिक आवरणमा जोगिएका थिए ।

उनीमाथि सातवटा कर्तव्य ज्यान, एउटा डाँका र एउटा अपहरणपछि हत्या मुद्दा दर्ता रहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशमशेर जबराले बताए । यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।