राजनीति

शेरधनले भने– मधेसी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागेको छ



भक्तपुर,३ चैत। नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेसी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लवमा साक्षात्कार कार्यक्रममा एमाले नेता राईले पटक–पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चाले कुनै हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको बताए ।

नेता राईले मधेसी मोर्चाको नियतमै खोट भएको बताउँदै मोर्चालाई तीन पटक लिखित रुपमा पत्र नै थमाएर वार्तामा बस्न आह्रवान गर्दा पनि वार्तामा बस्न नचाहेको बताए । मोर्चाको नियतमै खोट भएकाले मधेसी मोर्चा देशलाई कसरी अराजक, द्धन्द्धमा राखिराख्न सकिन्छ भनेर विभिन्न बहानाबाजी गरिरहेको उनले बताए ।
वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिने उनले स्पष्ट पारे ।

मधेसी नेताहरुको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको बताउँदै भने, ‘मोर्चा नेताहरु मौका परे संविधानसभा आउने भक्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिड्ने दोहोरो चरित्रको अत्य गर्नुपर्छ । मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सदभावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिँदैन ।’

निर्वाचनका सवालमा अहिले अनेकौ खालका गतिविधि भइरहेको बताउँदै नेता राईले निर्वाचन तोकिएको मितिमा सम्भव रहेको र गर्नुपर्ने बताए । मधेसी जनता निर्वाचनको पक्षमा भएको बताउँदै केहि मधेसी नेताले नचाहाँदैमा निर्वाचन नरोकिने बताए ।

संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नसक्ने बताउँदै एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गरे । वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोपसमेत लगाए ।
कांग्रेस र माआवादीबीचको सहमतीअनुरुप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकि रहेको अवस्थामा विगतमा सरकार गठनपूर्व सरकारले ब्यक्त गरेका प्रतिबद्धता अनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा ईमानदारीता नदेखाएको बताए ।
उनले वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेको बताउँदै निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागेको बताए ।

एमालेको सामाजिक एकता तथा राष्ट्रियताको जगमा उभिएर अविचालीत रुपमा एमाले एकठिक्का हुँदै आएको बताए । एमालेले संविधान कार्यान्वयनको लागि चार महिना अभियान सम्पन्न गरेको छ, उनले भने, एमालेले गत २१ फागुनबाट सूरु गरेको मेची महाकाली अभियान आज सम्पन्न भएको छ । त्यो अभियान पूर्ण रुपमा सफल भयो ।’ सप्तरी घटनामा एमाले दोषि नभएको बताउँदै सप्तरी घटनामा मधेसी मोर्चा प्रत्यक्ष दोषी भएको बताउँदै सुरक्षाकर्मीमाथि पेटोलियम बम प्रहार गर्ने कार्य हुँदा प्रतिकारमा दुःखद घटना हुन पुगेको बताए ।