काठमाडौँ, २९ असार । बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ । कम्तीमा ३३ जना बेपत्ता भएका छन् । राजमार्ग डुबाउँदा र कतिपय पुल भत्काउँदा आवागमन अवरुद्ध भएको छ ।
समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ । बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटे पनि रोकिएको छैन। यसले बाढीपहिरो आउने क्रम जारी छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि २१ जिल्लाका ३२ स्थानमा ८ हजार नेपाली सेना परिचालित भएका छन् ।
अति प्रभावित १४ जिल्ला झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलाञ्चोकमा सेनाले ३ सय ५८ जनाको सकुशल उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाले पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग, काठमाण्डौ–हेटौडा सडक, भोजपुर–खोटाङ–लेगुवा सडक सुचारु गरी यातायात आवागमन सहज बनाएका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकसहित काठमाडौँ उपत्यकामा ८८५६, प्रदेश १ मा ६३०५, प्रदेश २ मा ५७०२, प्रदेश ३ मा ३४०५ र प्रदेश ६ मा ३११२ जना गरी २७,३८० प्रहरी परिचालित छन् । विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्