Banner News

नेपाली कामदारको सुरक्षाका लागि सरकार कसैसँग झुक्दैन : मन्त्री विष्ट



काठमाडौँ, ३० असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको अधिकार र सुरक्षाको लागि कसैसँग नझुक्ने बताउनुभएको छ ।

आइतबार मन्त्रलयमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री विष्टले नेपाली नागरिकको अधिकार रक्षाको लागि सरकार अडिग रहने बताउनुभयो ।

कार्यक्रममा मन्त्री बिष्टले बैदेशिक रोजगारीलाई कम गर्दै नेपालमा भएको सम्भावना उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा भएको सम्भावनालाई उपयोग गर्न सके समाज विकाश र देशको परिवर्तनमा महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

सम्मानित हुनेमा मनोजकुमार भारती, शर्मिला अधिकारी, दीपक चापागाईँ, त्रिलोक पनेरु, निरबहादुर रावत, एकबहादुर सिङताङ र नवराज पौड्याल रहेका छन् ।