अर्थ

नेप्सेमा गरेको लगानी निकाल्दै राष्ट्र बैंक



काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जमा गरेको लगानी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै नेप्सेमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्न लागेको हो । नेप्सेमा राष्ट्र बैंकको १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लगानी रहेको थियो ।

प्रतिकित्ता १ हजार ३२ रुपैयाँ न्यूनतम मूल्य तोक्दै राष्ट्र बैंकले बोलकबोलमार्फत आफ्नो सेयर बिक्री गर्न खोजेको हो । उक्त सेयर बैंक तथा वित्तीय संस्था, धित्रोपत्र व्यवसायीका सँगै सुचीकृत संगठित संस्थाले आवेदन दिन पाउने उल्लेख गरिएको छ । सूचनामा जनाइए अनुसार भदौ २ गतेसम्म आवेदन दिन मिल्ने छ भने भदौ ४ गते बोलपत्र खुला गरिनेछ ।

नेप्सेमा सबैभन्दा धेरै लगानी नेपाल सरकारको रहेको छ । नेपाल सरकारपछि सबैभन्दा ठूलो लगानी भएको राष्ट्र बैंकले आफ्नो लगानी बिक्री गर्न लागेको हो । नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर लगानी रहेको छ भने राष्ट्र बैंकको ३४.६० प्रतिशत लगानी रहेको छ ।