बाढी र पहिरोको चपेटामा परेर असार २६ गतेदेखि अवरुद्ध मध्यपहाडी राजमार्ग एक साता बित्दा पनि खुल्न सकेको छैन। राजमार्गका विभिन्न स्थानमा ठूल्ठूला पहिरो गएका छन्, जसलाई पन्छाउन अझै समय लाग्ने देखिएको छ।
असार २४ गते बेलुकादेखि सोमबारसम्म परेको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको ठाँउठाँउमा ठूला पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध हुँदा खोटाङ ओखलढुंगा, सोलुखुम्बुलगायत पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै आवातजावत गर्ने सवारीसाधन चलेका छैनन्। सवारी नचलेपछि यात्रुहरु हिँडेरै यात्रा गर्न बाध्य छन्।
मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी खण्डअन्र्तगत विभिन्न स्थानमा पहिरो खसेको र हालसम्म खुल्न नसकेको स्थानीय गौरव कार्कीले जानकारी दिए। उनका अनुसार मध्यपहाडी राजमार्गस्थित हैबारनजिकै अक्करे भीरमा गएको पहिरो दुई दिन लगाएर बल्ल पन्छाइएको छ। खुर्कोटबाट करिब १७ किलोमिटरसम्म पहिरो पन्छाउने काम भए पनि राजमार्ग एकतर्फी रूपमा खुलाउन अझै दुई दिन लाग्न सक्ने स्थानीयको अनुमान छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।










प्रतिक्रिया दिनुहोस्