काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले ‘निगमको साख’ सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो । तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ । निगमले जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन । घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ । निगमसँग भएका वाइड बडी, न्यारो बडीसहित आन्तरिकतर्फका सबै जहाज उडाउन नसक्दा दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ ।
निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार निगमसँग भएका १३ वटा जहाजमध्ये सातवटाले मात्र उडान भरिरहेका छन् । ‘पाइलट अभाव र केहीको जारी मर्मतमा भएका कारण ६ वडा जहाजले उडान भरेका छैनन्,’ चन्दले भने । निगमले पाइलट व्यवस्थापन गर्न नसक्दा जहाज थन्किएका छन् । ‘पाइलट व्यवस्थापन गर्ने प्रयास गर्दैछौं,’ चन्दले भने । निगमले वाइड बडी खरिद गरेर ल्याए पनि नयाँ गन्तव्य विस्तार गर्न सकेको छैन । निगमले हाल ४४ आन्तरिक र २२ बाह्य गरी ६६ गन्तव्य स्थानमा उडान भर्दै आएको छ ।
निगमका उच्च अधिकारीमाथि निजी क्षेत्रका विमान कम्पनीलाई फाइदा पुग्नेगरी काम गर्दै आएको आरोप छ। याे खबर आजकाे नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्