समाचार

सडकमा सवारी गुडाइनसक्नु, शुल्क छोइनसक्नु



काठमाडौँ, ५ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना जारी गरेर शत प्रतिशत सवारी प्रयोग शुल्क वृद्धि गरे पनि सडकको दुरवस्था फेरिएको छैन ।

सर्वसाधारणको ढाड सेक्ने गरी सरकारले उपभोग शुल्क वृद्धि गरे पनि सडकको मर्मत सम्भार र गुणस्तर वृद्धिमा भने कम चासो छ । सरकारले कर उठाउन शुल्क वृद्धिमा ध्यान दिने तर सडकको उचित मर्मत सम्भार र सरसफाइमा चासो नदेखाउँदा सर्वसाधारणसमेत आक्रोशित बन्ने गरेका छन् ।

नेपालभर सार्वजनिक सडकको दुरवस्थाकै कारण दुर्घटनामा समेत वृद्धि हुने गरेको छ भने सहज रूपमा आवतजावत गर्न सर्वसाधारणले पाइरहेका छैनन् । सडकमा रहेका खाल्डाखुल्डी र धुलोधुवाँले सर्वसाधारण हैरानीमा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले सडकको मर्मत सम्भार तथा गुणस्तरीय बनाउन सरकार निरन्तर रूपमा लागिरहेको बताए ।

‘सबै सडक नराम्रा छन् भन्ने हैन, राम्रा पनि छन्, राम्रो बन्दै पनि आएका छन्,’ उनले राजधानीसँग भने, ‘सडकको गुणस्तर बढाउन सरकार निरन्तर लाग्दै आएको छ ।’ सरकारले सार्वजनिक तथा निजी सवारीसाधनबाट वार्षिक रूपमा नवीकरणसँगै सडक प्रयोग गरेबापत निश्चित शुल्क असुल गर्ने गर्छ भने राज्यले इन्धनमा अतिरिक्त करसमेत लिने गरेको छ ।

यस्तै, सरकारले सडक उपभोग शुल्कसमेत वृद्धि गरेको थियो । सर्वसाधारणबाट चौतर्फी रूपमा कर उठाए पनि त्यसको सही सदुपयोग हुन सकेको छैन । मन्त्रालयका सहसचिव तथा प्रवक्ता ज्ञवालीले भने २० वर्ष अघिको दरमा थोरै मात्र वृद्धि गरिएको बताए । राजधानी दैनिकले खबर छापेकाे छ ।