Banner News

नेकपामा माधव नेपाल हावी, अध्यक्ष ओलीलाई पछि पार्दै इञ्चार्जमा लिए अग्रता



काठमाडौँ, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जका साथै छ महानगरपालिकाका इन्चार्जको टुंगो लगाएको हो । पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ ।

तत्कालीन एमालेको भागमा परेका ५० इन्चार्जमध्ये नेपाल पक्षधर नेताहरुले २१ जिल्लासहित २४ इन्चार्ज हात पारेका छन् भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली निकट नेताहरुले १९ जिल्लासहित २० इन्चार्ज भेटेका छन् । त्यस्तै तत्कालीन माओवादीको भागमा परेका ३१ इन्चार्जमध्ये पुष्पकमल दाहाल निकटका २२ र नारायणकाजी श्रेष्ठनिकटका ४ नेताले इन्चार्जको जिम्मेवारी पाएका छन् । पाँच जिल्ला इन्चार्ज भने ओली र नेपालसँग सुमधुर सम्बन्ध राख्ने नेताले हात पारेका छन् । नेता ईश्वर पोखरेल निकटका कसैले पनि इन्चार्जको जिम्मेवारी पाएनन् ।

पार्टीमा पछिल्लो समय शक्तिशाली बन्दै गएको आकलन गरिएका नेता रामबहादुर थापा निकटका ४ र नेता वामदेव गौतम निकटका ४ जना इन्चार्ज बनेका छन् । गृहमन्त्रीसमेत रहेका थापा प्रदेश र जिल्ला कमिटी गठनमा हावी भएका थिए । नेपाल समूहले ताप्लेजुङ, झापा, मोरङ, तेह्रथुम, संखुवासभा, सिरहा, ओखलढुंगा, उदयपुर, पर्सा, मकवानपुर, रामेछाप, लम्जुङ, मुस्ताङ, पाल्पा, बर्दिया, जाजरकोट, डोल्पा, मुगु, कञ्चनपुर, अछाम र बाजुरा जिल्लाको इन्चार्ज पाएको छ । यस्तै वीरगन्ज महानगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौ महानगरपालिकाको इन्चार्जको जिम्मेवारी पनि नेपाल पक्षधर नेताले पाएका छन् ।

अध्यक्ष ओली पक्षधर नेताहरुले सुनसरी, खोटाङ, सप्तरी, चितवन, नुवाकोट, काभ्रे, मनाङ, गुल्मी, स्याङ्जा, नवलपरासी पश्चिम, रुपन्देही, पर्वत, अर्घाखाँची, रुकुम पूर्व, सुर्खेत, बैतडी र डोटी जिल्लाको इन्चार्ज पाएका छन् । पोखरा महानगरपालिकाको इन्चार्ज पनि ओली समूहको हात लागेका छ ।

त्यसैगरी नेता गौतम पक्षधरले काठमाडौं, दार्चुला र म्याग्दीको इन्चार्ज पाएका छन् भने पार्टी प्रवक्तासमेत रहेका नेता श्रेष्ठ निकट नेताहरुले महोत्तरी, सर्लाही, दाङ र कपलिवस्तुको जिल्ला इन्चार्ज पाएका छन् । थापा पक्षीय नेताहरुले कैलाली, भक्तपुर, रौतहट र तनहुँको इन्चार्ज पाएका छन् । त्यसबाहेक २१ जिल्लाका इन्चार्ज र २ महानगरपालिकाको इन्चार्ज भने दाहाल पक्षधरले पाएका छन् । भरतपुर महानगरपालिकामा मेयर रेणु चन्द आफैं इन्चार्ज भएकी छन्। त्यस्तै पोखरा महानगरपालिकामा पनि मेयर मानबहादुर जिसी आफैं इन्चार्ज भएका छन् ।

जिल्ला इन्चार्जको अपेक्षा गरेका कतिपय पूर्वएमाले नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन । नरेश खरेल, जगन्नाथ खतिवडा, टंक कार्की, केदार न्यौपाने, राजेन्द्र गौतम, पशुपति चौलागाईं, हिक्मत कार्की, तुलबहादुर गुरुङ, पार्वत गुरुङलगायतले कुनै पनि जिम्मेवारी पाएका छैनन् । त्यसैगरी सूर्य थापा र विष्णु रिजालले पनि कुनै जिम्मेवारी पाएका छैनन् । सोलुखुम्बूमा भने पूर्वमाओवादीका तर्फबाट इन्चार्ज र सहइन्चार्ज तोकिएको छ। यसअघिका इन्चार्ज किशोर अधिकारीलाई जिम्मेवारीविहिन बनाइएको छ । धनकुटा, काभ्रे, गुल्मी, डोल्पा, दार्चुला, ताप्लेजुङ, ओखलढुंगा, नुवाकोट र प्युठानमा सहइन्चार्ज तोकिएको छैन। त्यसैगरी महानगरपालिकामा पनि सहइन्चार्ज तोकिएको छैन ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला इन्चार्जको टुंगो लगाए पनि सचिवालय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छैन । ३२ वटा विभागका प्रमुखसमेत तोक्ने गरी सचिवालयको बैठक बसे पनि स्कुल विभागमा विवाद उत्पन्न भएपछि जिल्ला इन्चार्ज र सहइन्चार्जमात्रै तोकेर बैठक सकिएको थियो । स्कुल विभाग पूर्वएमालेको भागमा परे पनि नारायणकाजी श्रेष्ठले दाबी गरेपछि बैठकमा विवाद भएको थियो । प्रचार विभाग र आर्थिक विभाग पूर्वमाओवादीको भागमा परे पनि श्रेष्ठले ‘यस्तो भागबन्डाले हुँदैन, मलाई प्रचार विभाग भनेर सधैं थन्क्याउने काम राम्रो भएन’ भन्दै स्कुल विभागमा दाबी गरेका थिए ।

सचिवालय सदस्य पोखरेलको पनि स्कुल विभागमा दाबी छ । तर पूर्वमाओवादीहरुले पोखरेललाई स्कुल विभाग प्रमुख अस्वीकार गरेका छन्। पोखरेलले जनताको बहुदलीय जनावादको वकालत गर्न थालेपछि पूर्व माओवादी समूहले उनलाई अस्वीकार गरेका छन् । विवाद आएपछि ओलीले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।