राजनीति

कर्मचारी नसच्चिए कठोर रुपमा प्रस्तुत हुन्छु : मुख्‍यमन्त्री राई



विराटनगर, ६ साउन । प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राईले कर्मचारीको काम कार्वाही र काम गर्ने शैलीप्रति प्रदेश सरकार पूर्णरुपमा असन्तुष्ट रहेको बताउँदै कर्मचारी तत्काल नसच्चिए कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिनुभएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले काम गर्ने क्रममा ढिलासुस्ती र लापार्वाही गर्ने गुनासो बढ्दै गएको र आफू त्यस्ता प्रवृत्तिका कर्मचारीप्रति कठोर रुपमा प्रस्तुत हुने स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री रोईले प्रदेशको डिभिजन वन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सडक, सिँचाई, खानेपानी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुसँग आक्रोशित हुनुभयो । कर्मचारीले गर्ने गरेका अनियमितता र भ्रष्टाचार लगायतका विषयमा आफूले थुप्रै सूचना प्राप्त गरको बताउँदै उहाँले भन्नुभयो, ‘प्रदेश सरकार बिना सूचना चुप लागेर बसेको छैन । विशेष सूचनाका आधारमा सबै कुरालाई नजिकबाट नियालिरहेको छ ।’

समृद्ध मुलुक र सुखी नेपाली भन्ने सरकारको अभियानमा यस्ता तत्व बाधक रहेको बताउँदै मुख्यमन्त्री राईले पछिल्लो समय जिम्मेवार र महत्वपूर्ण घडीबाट मुलुक अघि बढिरहेका बेला कर्मचारी कमिसन माग्ने, भ्रष्टाचार गर्ने र जनताको काममा ढिलासुस्ती गर्ने जस्ता गतिविधि र विवादमा मुछिने गरेको गुनासो गुनासो गर्नुभयो ।

असार ३० गते सिँचाई डिभिजन विकास कार्यालय भोजपुरका प्रमुख एवं सिनियर डिभिजन ईन्जिनियर मोहनबाबु यादव १ लाख ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेको उल्लेख गर्दै मुख्यमन्त्री राईले कार्यालय प्रमुखलाई बोलाएर बैठक गर्न जरुरी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारी विभिन्न खाले विवादमा मुछिन र घुससहित रंगेहात पक्राउ पर्न थाले । अरु घटना हुनु नदिन सबै जनालाई एकै ठाउँमा राखेर आकस्मिक रुपमा कुरा गर्नु पर्ने अवस्था बन्यो ।’