विराटनगर, ६ साउन । नेपाल सरकारका उपप्रधानमन्त्री, रक्षामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य ईश्वर पोखरेलले हिंसात्मक गतिविधि बन्द गरेमात्र विप्लव समूहसँग वार्ता हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै रक्षामन्त्री पोखरेलले सरकारले नेत्रबिक्रम चन्द विप्लव समूहसँग औपचारिक रुपमा वार्ताको प्रक्रिया अगाडि नबढाएको बताउनुभयो । उहाँले विप्लव समूहले हिंसात्मक गतिविधि नत्यागेसम्म वार्ता हुन नसक्ने दोहोर्याउनुभयो । विभिन्न राजनीतिक समूहले वार्ताका लागि अनौपचारिक रुपमा विप्लव समूहसँग छलफल गरिरहे पनि सरकारसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पार्नुभयो ।
रक्षामन्त्री पोखरेलले अहिलेसम्म पार्टीको वैठकमा स्कुल विभाग कसलाई दिने भन्ने विषयमा प्रवेश नपाएको बताउँदै स्कुल विभाग प्रमुखका विषय सहमतिमै टुंगो लाग्ने बताउनुभयो । स्कुल विभाग प्रमुखका विषयमा पत्रपत्रिकामार्फत बाहिर आएको कुरामा सत्यता नभएको दाबी गर्दै मन्त्री पोखरेलले नेकपाका जिल्ला इन्चार्जहरू सहमतिमै टुङ्ग्याइएकोले स्कुल विभाग प्रमुखका जिम्मेवारी कसलाई दिने भन्ने विषय पनि सहमतिमै टुंगिने जानकारी गराउनुभयो ।
नेता पोखरेलले संसदमा सरकारले प्रस्तावको रुपमा पेश गर्ने विधेयकको विषयमा त्यहीबाट छलफल गरेर सच्याउने सकिने भएकाले यस विषयमा बाहिर हल्ला मच्चाएर विरोध गर्नु उचित नहुने बताउनुभयो । उहाँले मिडिया काउन्सिल, विभिन्न आयोगका विषयमा सरकारले जवाफदेहीपूर्ण विधेयक दर्ता गरेकाले संसदबाटै त्यसको हल खोजिने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्