शैक्षिक

पाँचबुँदे घोषणापत्र जारी गर्दै इन्टरपोलको २३औँ सम्मेलन सम्पन्न



काठमाडौँ, ७ माघ । विश्वभरका प्रहरीको छाता सङ्गठनका रूपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ ।

गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ ।

त्यसैगरी मानव बेचबिखन, बाल हिंसाजस्ता क्षेत्रमा संयुक्त कारबाही अगाडि बढाउने तथा एसियाली क्षेत्रमा सूचना सङ्कलन र आदानप्रदानलाई अझ बढी प्रभावकारी बनाउने सहमति भएको छ ।

आतङ्ककारी सङ्गठनको सम्बन्धमा विवरण सङ्कलन, आदानप्रदान, आतङ्ककारीको सम्पत्ति विवरण सङ्कलनलगायतका विषयमा सहकार्य गर्दै प्रहरीलाई बलियो बनाउने उल्लेख छ ।

त्यसैगरी चौथो बुँदामा एसियाली क्षेत्रमा विद्युतीय अपराधविरुद्ध रणनीति तय गर्दै प्रहरीको सूचना तथा प्राविधिक ज्ञानको दायरा बढाउने उल्लेख छ ।

पाँचौँ बुँदामा अन्तरदेशीय वातावरणीय अपराध नियन्त्रण गर्ने तथा सोका लागि अन्तक्र्रिया, विवरण सङ्कलन र आदानप्रदान गर्ने उल्लेख छ ।

सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल भएको थियो । अर्को सम्मेलन दुई वर्षपछि इरानमा हुने भएको छ ।

सम्मेलनको समापन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्मेलन उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै अपराध नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो ।

कानुन कार्यान्वयनका लागि एसियाली मुलुकबीच सहकार्य आवश्यक रहेकामा जोड दिँदै सम्मेलनले भूमिका खेलेको उहाँको भनाइ छ ।

गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले प्रहरी संयन्त्रको सफलताको प्रतिविम्ब देशकै सफलतामा देखिने बताउनुभयो ।

नेपालमा अपराध गरी अन्य मुलुकमा लुकेर बसेकाहरुलाई पक्राउ गर्न सम्मेलनको छलफलले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

इन्टरपोलका महासचिव जुर्गेन स्टकले सम्मेलन सफलताको प्रतिविम्ब निकट भविष्यमै देखिन थाल्ने विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीका लागि सूचना आदानप्रदान र छलफलका लागि इन्टरपोलजस्तो निकाय अर्को नभएको टिप्पणी गरे ।

सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए ।

नेपाललाई अन्तरदेशीय सम्बन्ध विस्तार गर्न र अपाराधबारे सूचना आदानप्रदान गर्न सम्मेलनले सहयोग गरेको उहाँको भनाइ छ । सम्मेलनमा नवीन र राम्रा कामको अनुभव आदानप्रदान भएको उहाँले बताउनुभयो । सम्मेलनमा विशेषतः सङ्गठित अपराध र आतङ्कवादका विषयमा केन्द्रित रहेको उहाँले जानकारी दिए ।

सम्मेलनमा ३३ राष्ट्रका १३६ जना कानुन कार्यान्वयन गर्ने सुरक्षा अधिकारीको प्रतिनिधित्व रहेको थियो । यसअघि १०औँ क्षेत्रीय सम्मेलन आयोजना गरेको नेपालले २७ वर्षपछि अहिले २३औँ सम्मेलन गरेको हो ।