सम्पादकीय

ठेक्का लिने काम नगर्ने १८ सय ठेकेदारमाथि छानबिन



 ठेक्का ओगट्ने तर लामो समयसम्म काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि छानबिन गरी कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ। गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताबमोजिम समयमै काम नगरेका ठेकेदारको नामसहित कारबाहीका लागि अख्तियारमा पठाइएको जानकारी दिए ।

थापाले ठेक्कामा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने कुरा भ्रष्टाचारसँग जोडिएको टिप्पणी गरे । ‘गैरजिम्मेवार ठेकेदारलाई कारबाही गर्न र सुशासन कायम गर्न सकेनौं भने समृद्धि सम्भव छैन,’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कानुनसम्मत ढंगले कारबाही प्रक्रिया अगाडि बढाएका छौं ।’

मन्त्री थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर निर्माण व्यवसायीलाई ठीक ठाउँमा ल्याउने र विकास निर्माणका काम समयमै पूरा गर्ने गरी प्रयास भइरहेको जानकारी दिए । अख्तियारका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का ओगटेर लामो समयसम्म काम नगरेका निर्माण व्यवसायीमाथि छानबिन भइरहेको जानकारी दिएको खबर नागरिक दैनिकमा छ ।