राजनीति

मलेसिया रोजगारीः जब ‘शक्तिशाली’ फेल भए…



काठमाडौँ, १० साउन । मलेसिया रोजगारी रोकिएको ठ्याक्कै १ वर्ष २ महिना ८ दिन भयो। खुल्छ–खुल्छ भन्दाभन्दै समय सरेको सर्‍यै छ । सरकारका गतिविधि खोल्नभन्दा अलमल्याउनै केन्द्रित देखिन्छ ।

जब ‘शक्तिशाली’ फेल भए…

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ चैत १८ गते राष्ट्रिय दैनिकमा एउटा सूचना निकाल्यो । त्यसमा मन्त्रालयमा सूचीकृत भएका र मापदण्ड पूरा गरेका अन्य स्वास्थ्य संस्थालाई निवेदन दिन भनिएको थियो ।

त्यसको प्रयोजन थियो-मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने । १५ दिन म्याद दिइएको सूचनामा प्रस्टै थियो, ‘प्राप्त निवेदनमध्ये मापदण्ड पुगेका स्वास्थ्य संस्था मात्र छनोट गरिनेछ ।’

त्यस आधारमा २ सय ३७ संस्थाले आवेदन दिए । यस प्रयोजनका लागि बनाइएको विशेषज्ञ समितिले ३ वटा टोली बनाएर हरेक संस्थाको अनुगमन गर्‍यो । मलेसिया सरकारले तोकेको मापदण्ड नपुगेका १ सय ३८ वटा असफल भए। जम्मा ९९ संस्थाले मापदण्ड पूरा गरे ।

त्यसको सूचना मन्त्रालयले असार २० गते जारी गर्‍यो । सरोकारवालाले ठाने, ‘अब भने मलेसिया खुल्ने भयो ।’ तर, फेरि खुलेन । बरु असार २२ गते मन्त्रालयले अर्को सूचना निकाल्यो, ‘९९ वटा स्वास्थ्य संस्थाले मापदण्ड पूरा गरेका छन् । यो सूचनाउपर कुनै गुनासोरउजुरी भए ३ दिनभित्र निवेदन पेस गर्नुहोला ।’

मन्त्रालय उच्च स्रोतका अनुसार उच्च राजनीतिक पहुँच भएका केही व्यक्तिका मेडिकल संयोगवश असफल हुनेमा परे । तिनको रातारात स्तरोन्नति गरेर ‘मापदण्ड पूरा गरेका’ बनाउने चलखेल भयो । र, गुनासो राख्नेमा मापदण्ड पूरा नगरेका ५८ संस्था निस्किए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।