काठमाडौँ, १० साउन । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् ।
बाढीबाट रौतहटमा १० जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाको मृत्यु भएको र पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ ।
बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति भएको छ । यस्तै पहिरोबाट रु दुई करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ ।
सिराहामा सात र ललितपुरमा छ जना र सिन्धुली, धनुषा, मकवानपुर, भोजपुरमा पाँच/पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार/चार जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन/तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई/दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक/एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा सात र लमजुङमा छ जना अझै बेपत्ता छन् ।










प्रतिक्रिया दिनुहोस्