Banner News

विकास भनेको उत्सव हो, १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ : मन्त्री भट्टराई



बुटवल, २४  साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले विकास भनेको उत्सव भएको बताउँदै १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताउनुभएको छ ।

लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन जाने क्रममा बुटवल आइपुग्नुभएका मन्त्री भट्टराईले कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण बनाइने दावी गर्नुभयो । उहाँले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर बस्नसमेत आग्रह गर्नुभयो । मन्त्री भट्टराईले लुम्बिनीको बृहत्तर गुरुयोजना निर्माण गरेर तिलौराकोट, रामग्राम र देवदहको विकास गरिने बताउनुभयो ।

मन्त्री भट्टराईले सरकारले अब रफ्तार लिने बताउँदै भन्नुभयो, ‘सरकारले ढिलो गति भएपछि दिशा सहि लिएको छ, अब रफ्तारमा अघि बढ्छ ।’ साढे तीन वर्षपछि हुने चुनावमा जनतासँग गरिएका प्रतिवद्धता पूरा गरेर मात्रै भोट माग्न जाने बताउँदै उहाँले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्न आग्रह समेत गर्नुभयो ।

‘सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’, मन्त्री भट्टराईले भन्नुभयो, ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’