समाचार

‘केटाकेटीलाई मोवाइल हैन, समय दिनुस्’ : डिआइजि शैलेश



काठमाडौँ, २५ साउन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेश थापा क्षेत्रीले हरेक आमाबाबुले आफ्ना केटाकेटीलाई उनीहरुले भन्ने वित्तिक्कै मोवाइल, ट्याब र ल्यापटप होइन समय दिन आग्रह गरेका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेभियर पब्लिक स्कुलमा आयोजित विद्यार्थी अभिभावक प्रशिक्षण कार्यक्रममा डिआइजि थापाले बाबुआमा असल भए भने छोराछोरी पनि असल हुने बताए । ‘बाबुआमा गलत काममा नलागे केटाकेटी पनि कहिल्यै गलततिर लाग्दैनन’—उनले भने ।

केटाकेटीलाई हरेक दिन समय दिन, उनीहरुको कुरा सुनेर उनीहरुकै साथीजस्तो बनेर सहयोग गर्न पनि डिआइजि थापाले अभिभावकलाई सुझाए । केटाकेटीको उमेर अनुसार भएको परिवर्तन बाहेक एक्कासी परिवर्तन आएमा अभिभावकले तत्काल चासो दिनुपर्ने पनि डिाआईजि थापाले बताए ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौर बानेश्वरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा डिआइजि थापा, ३ नं प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, सामुदायीक प्रहरी सेवा १० केन्द्रका इन्चार्ज पह्ररी हवल्दार ताराराम दयाललाई विद्यालयले सम्मान गरेको थियो । कार्यक्रममा २०७५ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण विद्यार्थीहरुलाई डिआईजि थापाले सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा दलबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल आरवि अधिकारी, १० नं वडाका अध्यक्ष रामकुमार केसीलगायतले बोलेका थिए ।