शैक्षिक

उपमहानगर र नगरमा कार्यकारी अधिकृत तोकियो



काठमाडौँ, ५ चैत । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पाँच उपमहानगरपालिका र एक सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ ।

मन्त्रालयको शुक्रबार रातिको निर्णयअनुसार एक सय ७८ स्थानीय तहमा निर्वाचन तयारी एवम् व्यवस्थापन गर्न काजमा कर्मचारी खटाइएको प्रवक्ता केदारनाथ शर्माले राससलाई जानकारी दि।

कार्यकारी अधिकृत खटाइएका नगरपालिकामा प्रदेश नं १ का २९, प्रदेश नं २ का २२, प्रदेश नं ३ का ३१, प्रदेश नं ४ का २६, प्रदेश नं ५ का २३, प्रदेश नं ६ का १९ र प्रदेश नं ७ का २३ नगरपालिका छन् ।

प्रदेश नं २ का जितपुर सिमरा, कलैया र जनकपुर उपमहानगपालिका एवम् प्रदेश नं ५ का बुटवल र नेपालगन्ज उपमहानगरपालिकामा पनि कार्यकारी अधिकृत तोकिएको मन्त्रालयले जनाएको छ ।

उपमहानगरपालिका र नगरपालिकामा उपसचिवलाई कार्यकारी अधिकृत बनाइ पठाइएको छ । मन्त्रालयले विलम्ब गरेमा वा हाजिर हुन नगएमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुरुप कारबाही गरिने उल्लेख गरेको छ । मन्त्रालयले बिहीबार राति ४८१ गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको थियो ।

सरकारले फागुन २७ गते नेपाल राजपत्रमा जारी गरेको सूचना अनुसार काठमाडौँ, ललितपुर, भरतपुर र पोखरा महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका कार्यान्वयनमा आएको छ ।

काठमाडौँ बाहेकका तीनवटै महानगरपालिकामा पनि कार्यकारी अधिकृत पद रिक्त छ । यी महानगरमा छिटै कार्यकारी अधिकृत तोकिने मन्त्रालयले जनाएको छ । रासस