इनरुवा, २६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारको बिरोधमा उत्रनेहरुलाई मैदानमा आउन खुल्ला चुनौती दिँदै जनतामा कुनै प्रकारका डर र त्रास देखाएर थर्काउने दिवा सपना नदेख्न विपक्षी र विरोधीलाई चेतावनी दिनुभएको छ ।
मन्त्री पण्डितले सुनसरीको इनरुवा ६ मधेशामा निर्माण गरिएका ३ कोठे घर स्थानीय परिवारलाई हस्तान्तरण गर्दै आफ्नो बिरोधमा पुत्ला जलाउनेहरुलाई साहस भए मैदानमा आएर जनतासामू उभिन खुला चुनौती दिनु भएको हो ।
तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत जनश्रमदानसहित ५५ लाख लागतमा निर्माण गरिएको नमूना वस्ती निर्माण कार्य उत्कृष्ठ भएकाले थप ७० लाख रकम विपन्न परिवारको आवास निर्माणका लागि उपलब्ध गराउने आश्वासन समेत दिनुभयो ।
सरकारमा आफू काम गर्नकै लागि चुनिएको बताउँदै उहाँले सरकार र आफ्नो विरोधमा उभिनेहरु प्रति कडा रुपमा प्रस्तुत हुनु भएको हो । मन्त्री पण्डितले स्थानीय तहमा लुट मच्चिएको भन्ने जनगुनासो बढेसँगै भ्रष्टाचारमा संलग्न धेरै नेताहरु समेत जेल जाने सम्भावना बढेको बताउनु भयो । अख्तियारले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले कमाउ धन्दामा लागेकाहरु जनताबाट बहिस्कारमा पर्ने देखि छिटै अख्तियारको फन्दामा पर्ने बताउनु भएको छ । मन्त्री पण्डितले रकम फ्रिज गर्ने स्थानीय निकायलाई थप रकम उपलब्ध नगराउने समेत स्पष्ट पार्नु भएको छ ।










प्रतिक्रिया दिनुहोस्