काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका सबै सामूदायिक विद्यालयका भवनमा एकै खाले रंग रोगन गर्ने योजनाअघि सारेको बताएका छन ।
कामनपाभित्रका पदस्थापन भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथग्रहण कार्यक्रममा सम्वोधन गर्दै मेयर शाक्यले भने, ‘हामी काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन, भौतिक संरचनामा पनि सकेसम्म एक रुपता ल्याउने प्रयासमा लागेका छौँ, ‘त्यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका ९१ ओटै सामूदायिक विद्यालय भवनमा एकै खालको रंग रोगन गर्ने तयारी थालेका छौँ ।’
उक्त योजनाको रंग रोगनको सम्पूर्ण खर्च महानगरपालिकाले नै गर्ने जानकारी दिदै भने, ‘ हामीले सामूदायिक विद्यालयको रंग रोग गर्ने, खेल मैदान निर्माण गर्ने, हरेक विद्यालयमा वृक्षारोपन गर्ने, सौचालय र खानेपानीको व्यवस्थागर्ने लगायतका शीर्षकका लागि १० करोड रकम छुट्याएका छौँ, ‘निजी विद्यालयलाई गाली गर्ने होइन सामूदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामूदायिकतिर आकर्षित गर्नुपर्छ । त्यसो भयो भने निजी विद्यालयमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जान्छ ।’
पदस्थापन भएका ३० जना शिक्षकलाई सपथ खुवाएपछि मेयर शाक्यले भने, ‘सामूदायिक विद्यालयमा राज्यको लगानी ठूलो छ । तर, परिणाम राम्रो आउन सकेको छैन । तपाईंहरुको व्यवस्थापकीय क्षमता पनि प्रदर्शन गर्नुहोला । आगामी वर्ष एसइइको परिणाम केही हदसम्म सुधार आयो भने तपाईंहरुको मूल्याङ्कन त्यँही हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्