काठमाडौं, २ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले अनाहकमा दु:ख नपाउन्, निरअपराधी पीडितको रुपमा रहन नपरोस र पीडक कानुनको दायरामा आउन भन्ने अभिप्रायका साथ आएको कानुन संरक्षण एवम् कार्यान्वयन गर्न नेपाल प्रहरी अभ्यस्त हुँदै गएको बताउनुभयो । नयाँ कानुन कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले फड्को मारेको चर्चा गर्दै उहाँले राष्ट्रको निर्णय र प्रहरीलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्न नेपाल प्रहरी नमूनाको रुपमा प्रस्तुत भएको बताउनुभयो ।
फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठीको अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरीले गर्ने अनुसन्धान वस्तुनिष्ठ, वैज्ञानिक र प्रमाणमुखी हुनुपर्ने धारणा अनुरुप नेपाल प्रहरीले उपलब्ध साधन स्रोतलाई अत्यधिक प्रयोग गरी काम गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्नुभयो । नेपालीहरुले विश्वमै अत्यन्त परिष्कृत सेवा पाउँछन् भन्ने कुराको नमूना प्रस्तुत गर्न आएको नयाँ कानुनलाई अवलम्बन गर्ने दिशामा नेपाल प्रहरी दृढ संकल्पित भई अपेक्षित परिणामतर्फ उन्मुख रहेको विचार उहाँले व्यक्त गर्नुभयो । राज्यले लिएको नीति र कानुनको प्रावधान परिपूर्ति गर्न नेपाल प्रहरी सरोकारवाला निकायसँग समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
उक्त अवसरमा पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले संहिता कार्यान्वयन सन्दर्भमा सुझाव प्रस्तुत गर्दै अनुसन्धान तथा अभियोजनकर्ताले आफ्नो भूमिकामा खरो उत्रिएका छौं कि छैंनौ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । संहिता प्रहरीको हितमा रहेको चर्चा गर्दै प्रा.डा. संग्रौलाले नेपाल प्रहरीले ऐन कानुनबारे बृहद छलफल र विश्लेषण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
गोष्ठीमा उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संहिता कार्यान्वयनमा देखिएका प्रभावकारिता र चुनौतीबारे चर्चा गर्दै कानुनको विश्वव्यापी मान्यता अनुसार कालजयी परिवर्तन लिएर ठूलो उपलब्धीका साथ संहिता आएको उल्लेख गर्नुभयो । संहिता कार्यान्वयनको पक्षमा नेपाल प्रहरीले गति लिएको चर्चा गर्दै न्यायाधीश ढुङ्गानाले आगामी दिनमा अदालत, महान्यायाधिवक्ताको कार्यालय, सम्बन्धित मन्त्रालय र नेपाल प्रहरीले आपसी समन्वय र सहकार्य गर्दै कार्यान्वयन पक्षलाई घनीभूत रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा नेपाल ल क्याम्पसका प्रमुख डा. डि.एन. पराजुलीले संहिताका प्रावधान कार्यान्वयनको प्रभावकारिता, त्यसमा खट्किएका पक्ष, कानुनी क्षेत्रमा हुने सुधारका विषय लगायत संहितामा आधारित पाठ्यक्रम परिवर्तन सम्बन्धमा चर्चा गर्नुभयो । संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन संहिताबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता श्याम कुमार भट्टराईले संहिता कार्यान्वयनमा देखिएका अवस्थाबारे चित्रण गर्दै यसको कार्यान्वयनमा महान्यायाधिवक्ताको कार्यालय नेपाल प्रहरीसँग हातेमालो गर्दै सँगसँगै अगाडि बढ्दै आएको विचार व्यक्त गर्नुभयो । समाजलाई रुपान्तरण गर्ने यस्ता कानुनलाई व्यवहारमा लागू गर्न सके सफल भइने उल्लेख गर्दै उहाँले थप उपलब्धी हासिल गर्नतिर लाग्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा गृह मन्त्रालय कानुन महाशाखाका सहसचिव पुष्कर सापकोटाले संहिताले नयाँ संविधान, अन्तर्राष्ट्रिय कानुन र न्यायका सिद्धान्तलाई समेटेको उल्लेख गर्नुभयो । यसको कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी थपिएको महसुस भएको उल्लेख गर्दै उहाँले कार्यान्वयनमा समन्वय गर्न गृह मन्त्रालय सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संविधानविद् टिकाराम भट्टराईले अपराध अनुसन्धानमा नेपाल प्रहरीले गुणात्मक फड्को मारिरहेको विचार व्यक्त गर्दै संहिता कार्यान्वयनमा प्रहरीलाई सहयोग गर्न कानुन व्यवसायी तयार रहेको बताउनुभयो । संविधानले कोरेको मार्गनिर्देशन अनुसार अगाडि बढेमा सफल हुन सहज हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको उद्देश्य र नेपाल प्रहरीले संहिता कार्यान्वयनको सन्दर्भमा गरेका कार्यहरुको विवेचना गर्नुभयो । संहिताले समेटेको आधुनिक मूल्य मान्यतालाई आत्मसात् गर्दै यसलाई कार्यान्वयन गर्नुपर्ने दायित्व र अवसर नेपाल प्रहरीलाई रहेको उहाँले बताउनुभयो ।
मूलुकी संहिता कार्यान्वयनको प्रभावकारिताको लेखाजोखा गर्ने, एक वर्षको अवधिमा नेपाल प्रहरीबाट संहिता कार्यान्वयनको क्रममा प्राप्त जिम्मेवारी अन्तर्गत भएका कार्यहरुका बारेमा सरोकारवालाहरुको पृष्ठपोषण प्राप्त गर्न र संहिता कार्यान्वयनको क्रममा अनुभव आदानप्रदान गरी अपराध अनुसन्धान कार्यलाई थप परिणाममुखी, सफल र वस्तुनिष्ठ बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा प्रकाशित CID Magazine र पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले दोस्रो प्रादेशिक सम्मेलन २०७६ स्मारिका विमोचन समेत गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, विभिन्न कानुन क्याम्पसका विद्यार्थीहरु लगायत प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्