समाचार

१८ वर्षपछि बल्ल हुने भो साधारण सभा



भक्तपुर, ५ भदौ । सूर्यविनायक नगरपालिका १ सिरुटारमा संचालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महिना भित्र साधारण सभा सम्पन्न गर्न सांसददेखि नगरपालिका समेतले निर्देशन दिएको छ ।

२०५२ सालमा स्थापना भई हाल १२ सय घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारण सभा नगरेको, अडिट नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै आएपछि वडा कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले एक महिना भित्र साधारण सभा गर्न निर्देशन दिएको हो ।

सूर्यविनायक १ सिरुटार वडा कार्यालयले आज आव्हान गरेको उपभोक्ता भेलामा सहभागि स्थानीय बासिन्दा एवं प्रदेश नं. ३ का प्रदेश सांसद शशीजंग थापा, वडा अध्यक्ष सानुकाजी कायस्थ, समितिका पदाधिकारी, जनप्रतिनिधी एवं उपभोक्ताहरु सहभागि भेलाले आगामी असोज १० गतेभित्र समितिलाई साधारण सभा गर्न अन्तिम समय दिएको हो ।

असोज १० गतेभित्र साधारण सभा नगरे वडा कार्यालयले उक्त समिति विगठन गरि नयाँ समिति गठन गरी अनियमितताबारे छानबिन गर्न भेलामा सहभागि सबै सहमत भएका छन् । खानेपानी समितिमा रहेका पदाधिकारी मध्ये कोषाध्यक्ष सहित दुई सदस्यको मृत्यु भईसकेको र हाल अध्यक्ष, सचिव र सदस्य सहित चार जना मात्रै रहदा समिति भन्दा कर्मचारी हावी हुँदा अनियमितता भएको र कर्मचारीले रु. १० हजारमा जडान गर्नुपर्ने धारोलाई ४० हजारसम्म लिएर जडान गर्ने गरेको भन्दै समितिको व्यापक आलोचना भएको छ ।

भेलामा सांसद थापाले काकाकुल रहेको सिरुटारमा आफू गाविस अध्यक्ष हुँदादेखि खानेपानी ल्याउन पहल भएको बताउदै आएको खानेपानी पनि अब्यबस्थित हुदाँ कतै वर्र्षौदेखि पानी नगएको र कतै जथाभावी छाडिएको पाईउको बताउनुभयो ।

खानेपानीका कर्मचारीबाट व्यापक अनियमितता भएको, एउटै धारो जडान गर्न कर्मचारीले एक लाख रुपैयासम्म मागेको गुनासो आफूमा आएको बताउदै भेलाको निर्णय अनुसार असोज १० गतेभित्र साधारण सभा गर्न समितिलाई निर्देशन दिनुभयो ।

वडा नं. १ का वडा अध्यक्ष सानुकाजी कायस्थले असोज १० गतेभित्र समितिले साधारण सभा नगरे असोज ११ गते नगरपालिकाले हस्तक्षेप गर्ने र समिति संचालन गरेर अनियमितताबारे छानविन गरिने निर्णय भएको बताउनुभयो ।

समितिका अध्यक्ष अच्युत मिश्रले आफूले निकै दुःख गरेर खानेपानीको व्यबस्था गरेको बताउदै केही कर्मचारीको वेईमानीले समस्या आएको बताउनुभयो । उहाँले समितिको अडिट भईरहेको बताउदै भेलाले गरेको निर्णय अनुसार असोज १० गते अगाडि नै साधारण सभा गरेर नयाँ समिति गठन गर्ने बताउनुभयो ।

यसअघि पनि समितिले एकवर्ष अघि डिभिजन खानेपानी कार्यालयमा भेला गरि जनप्रतिनिधीको रोहबरमा ४५ दिनभित्र साधारण सभा गर्ने भनिएपनि हुन सकेन । साधारण सभा नहुँदा सरकारी तथा गैरसरकारी संस्थाले बजेट नदिदाँ थप खानेपानीको व्यबस्था गर्न र पानी शुद्धिकरण समेत गर्न सकिएको छैन ।

यसक्षेत्रमा चारवर्षदेखि सिरुटार उपयोगी चोक क्षेत्रमा पानी आएको छैन भने केही स्थानमा सातामा केही दिन र केही स्थानमा तरकारमिा लगाउन समेत पुग्ने गरि पानी वितरण गर्दै आएको छ ।