विश्व

श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य भएको घोषणा



एजेन्सी, ७ भदौ । श्रीलङ्काली सरकारले चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा गरेको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कार्यालयले बिहीबारबाट यहाँ सङ्कटकालीन अवस्था हटाइएको जानकारी गराएको हो । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको थियो ।

त्यस आक्रमणमा परी २ सय ५८ जनाको मृत्यु भएको थियो । सो आतङ्ककारी हमलापछि श्रीलङ्काको राजधानी कोलम्बोमा असुरक्षाको अवस्था महसुश भएको थियो । गत अप्रिल २१ मा श्रीलङ्काका तीनओटा होटल र तीन ओटा चर्चमा भएको भीषण आक्रमणपछि राष्ट्रपति  सिरिसेनाले सङ्कटकाल घोषणा गरेका थिए ।

उक्त सङ्कटकालीन अवस्थाको समय बिहीबार सकिएको भए पनि राष्ट्रपति सिरिसेनाले समयावधि नबढाएको जानकारी उक्त कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।