राजनीति

बयानमा पत्रकार रवि र अस्मिताको मत बाझियो



चितवन, ८ भदौ । मृतक पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको पाइएको छ ।

उनीहरूले दिएको बयानमा दुईजनाको मत आपसमा बाझिएको अधिवक्ता गोपीलाल देवकोटाले बताए । अधिवक्ता देवकोटाका अनुसार अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण आत्महत्या गरेको हो भनी बयान दिएकी छन् । बयानमा आफ्ना कारणबाट शालिकरामले आत्महत्या नगरेको जिकिर गर्दै कार्कीले रवि र युवराजलाई पोलेको अधिवक्ता देवकोटाले बताए । उनले बयानमा आफ्नो र शालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले शालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एकपटक मात्रै सोधेको बताएकी छन् ।

रविले पनि आफ्नो कारण यो घट्ना नघटेको दाबी बयानमा दिएको अधिबक्ता देवकोटाको बताए । सोही दावी अनुसार रवि र अस्मीतको मत एक आपसमा बाझिएको छ । रविले आफुले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन् । यस्तै, रविले बयानका क्रममा शालिकरामसँग प्रत्यक्ष संवाद थिएन, सम्पर्क थिएन भनेका छन् । तर एउटै टेलिभिजनमा, एउटै टिममा रहेर काम गरेको, विभिन्न रिपोर्ट तयार पार्दा सँगै गएको विषय आइसकेकाले उनको यो क्रियाकलापले रविलाई नै अफ्ठ्यारो पर्न सक्ने कानुनविदको भनाइ छ ।

रवि र अस्मिताले फरकफरक मत राख्दा त्यसको असर रविलाई नै पर्न सक्ने अधिवक्ता देवकोटाको अनुमान छ । रविको धारणा उनैलाई घातक हुनसक्ने रविले विभिन्न माध्यमबाट आफ्नो धारणा सार्वजनिक गर्दा अदालतमा उनैलाई घातक हुनसक्ने खतरा रहेको बताइएको छ । उनले बाहिर निस्किएको केही मिनेटमा आफू निर्दोष रहेको प्रमाणित गर्ने बताएका छन् ।

अधिबक्ता देवकोटाले भने रविलाई छाडियो भने ५ मिनेटमा प्रमाण नष्ट हुने अथवा आफ्नो पक्षको सबुत सार्वजनिक गर्ने भएकाले उनको हिरासत बसाई लम्बिने सम्भावना रहने बताउनुभयो । रविले विभिन्न सामाजिक सञ्जालमार्फत हिरासतबाट बाहिरिएको ३ मिनेटमा आफू निर्दोष रहेको प्रमाणीत गरेर देखाउने दाबी गरेका छन् ।

तेस्रोपटक म्याद थप हुने सम्भावना कतिरु तेस्रोपटक म्याद थप हुने सम्भावना ९० प्रतिशत रहेको अधिवक्ता देवकोटाले बताए । अभियोग पत्र तयार भइनसकेकाले उनीहरू तिनै जनाको म्याद थपिने सम्भावना रहेको उनको भनाइ छ । सरकारले २५ दिनभित्र सम्बन्धित विषयको अनुसन्धान सकाउनुपर्ने भएकाले कतिपटक भन्दा पनि कति दिन भयो भन्ने विषयले प्राथमिकता पाउने उनको भनाइ छ ।

अहिले घटनास्थल वरपरका व्यक्तिहरुको बयान, डोरी किनेको पसल सञ्चालकको बयान लिइरहेको साथै अन्य प्रमाणहरू संकलन गर्ने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ । पुडासैनीको आत्महत्या कि हत्यारु पुडासैनी झुण्डिएको अवस्थामा फेला पर्नु, आफैँले डोरी किनेर लगेको पसलको सिसि क्यामेरा फुटेज फेला पर्नु र शव परीक्षण प्रतिवेदन भिसेरा रिपोर्टमा हत्या नभएको पुष्टि हुनुले पनि आत्महत्या नै हो भन्ने पुष्टि हुने अवस्था रहेको देवकोटाको भनाइ छ ।