सम्पादकीय

कारबाही गरेकै व्यक्तिलाई प्रचण्डले मन्त्री बनाएपछि…



काठमाडौं, ८ माघ । निर्वाचन आयोगले जरिवानासहित कारबाही गरेको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्दै मन्त्री बनाएकोमा निर्वाचन आयोग दुःखी भएको छ ।

‘हामीले अडिट रिपोर्ट नबुझाएको कारण समाजवादी जनता दललाई कारबाही गर्दै जरिवानासमेत गरेका थियौं । तर कारबाहीलाई सरकारले आत्मसात गरेको देखिएन, त्यो हाम्रो कार्यक्षेत्रमा पनि पर्दैन । अरू हामीले के भनौं र ?’ अमेरिकी दूतावासले काठमाडौंमा आयोजना गरेको निर्वाचन, सञ्चार र शान्तिपूर्ण सत्ता हस्तान्तरणसम्बन्धी अन्तक्र्रियामा निर्वाचन आयुक्त इला शर्माले यस्तो बताएकी हुन् ।

समाजवादी जनता दलका अध्यक्ष एवं एकमात्र सांसद प्रेमबहादुर सिंहलाई प्रधानमन्त्री प्रचण्डले बिहीबार खानेपानी तथा सरसफाइ मन्त्री नियुक्त गरेका थिए । आयुक्त शर्माले अब यो विषय संसद् सचिवालय वा सभामुखको भएको पनि बताइन् । ‘यो आचरण र कानुनसँग जोडिने कुरा पनि होला ।

यसलाई जसरी बुझदा पनि हुन्छ,’ आयुक्त शर्माले भनिन् । सिंहको दललाई खारेज गरी आयोगले एक सय रुपैयाँ जरिवाना गरेको थियो । यसविरुद्ध उनले दिएको मुद्दा सर्वोच्चमा विचाराधीन छ । कार्यक्रममा प्रमुख आयुक्त अयोधीप्रसाद यादव उपस्थित भए पनि उनले यसबारे कुनै टिप्पणी गरेनन् ।

‘सरकारले थप गरेको मन्त्रीमा निर्वाचन आयोगले कारबाही गरेको र अदालतमा विचाराधीन भएका व्यक्ति पर्नु हामीले भन्दा पनि अन्य निकायले बोल्ने विषय जस्तो लाग्छ,’ शर्माले भनिन् । सबैले निर्वाचन आयोग बलियो हुनुपर्ने बताउने तर काम भने त्योभन्दा फरक हुने गरेको कान्तिपुरमा समाचार छ ।