राजनीति

मन्त्री भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका खत्रीलाई उपप्रबन्धकबाट हटाइयो



काठमाडौँ, १७ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ ।

मन्त्री भट्टराईले आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिनुभएको थियो । उक्त निर्देशन लगत्तै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।

खत्री २२ वैशाख २०७४ मा तस्करी गरेर ल्याउँदै गरेको ४० तोला सुनसहित पक्राउ पर्नुभएको थियो । त्यसबेला एयर ट्राफिक कन्ट्रोलर कर्मचारी रहेका उहाँले कतार एयरवेजको उडानबाट आएको मनिगा रिमालको सुन रिसिभ गर्नुभएको थियो । एक्सरे मेसिनमा चेकजाँचका क्रममा सुन भेटिएपछि भन्सार कार्यालयले उहाँलाई पक्राउ गरेको थियो । तर छानविनका क्रममा सुन तस्करीमा संलग्न नभएको भन्दै छाड्यो । त्यसपछि उहाँ झापाको चन्द्रगढीमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ पछिल्लो समय काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनुभएको थियो । तर मन्त्री भट्टराईले यस्ता विवादास्पद कर्मचारीलाई नराख्न निर्देशन दिएपछि फेरि चन्द्रगढी पठाइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।