काठमाडौँ, १७ भदौ । खरिद प्रक्रिया मिलेको तर उपलब्ध गराइएका गाडीका केही पार्टस्मा त्रुटि रहेको निष्कर्षसहित गाडी खरिदका विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ ।
समितिले मङ्गलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले धेरै विषय कार्यान्वयनको स्वविवेकीय अधिकार सभामुखलाई नै दिनेगरी प्रतिवेदन तयार पारेको छ ।
समितिले सार्वजनिक खरिदको प्रक्रिया तथा प्राविधिक विषयमा अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको हो । ‘‘हामीले प्रतिवेदन तयार पारेका छौँ । खरिद प्रक्रियाका सबै कागजात मिलेकै छन् । केही गाडीका पार्टस् एसेम्बल गर्दा त्रुटि भएको छ । गाडी उत्पादनपछिको परीक्षण प्रमाणपत्र भने सन् २०१७ को मात्र पेस भएको छ । यो विषय निकै प्राविधिक पनि छ,” छानबिन समितिका एक सदस्यले भने ।
समितिले बिक्रेताबाट उक्त प्रमाणपत्रलाई ताकेता गरे पनि दुई वर्षअघिकै प्रमाणपत्र आधिकारिक भएको जवाफ दिएको छ । त्रुटि भएका पार्टस् परिवर्तन हुनुपर्ने सुझाव पनि समितिले दिएको छ । कुनै पनि ठोस निष्कर्ष समितिले निकाल्न सकेन । सङ्घीय संसदका सभापतिहरूका लागि खरिद गरिएका गाडीमा समस्या आएको गुनासो सभापतिबाटै भएपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । गोरखापत्रले खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस्