Banner News

तत्काल फलोअपमा जानु नपर्नेःप्रधानमन्त्री ओली दुरुस्त



काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो स्वास्थ्य उपचार गरी सिंगापुरबाट आज स्वदेश फर्किनुभयो । सिंगापुरबाट थाइल्याण्ड हुँदै आज मध्यान्ह ठिक १२ बजे प्रधानमन्त्री ओलीसहितको टोली काठमाडौं अवतरण गरेको हो ।

प्रधानमन्त्री ओलीलाई भेटन सिंगापुर जानुभएका नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेल पनि उहाँसँगै स्वदेश फर्कनुभयो । प्रधानमन्त्रीसँगै फर्किनुभएका नेकपाका महासचिव पौडेलले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिक्रिया दिनुभयो ‘प्रधानमन्त्रीज्यू दुरुस्त हुनुहुन्छ । पुरै ठिक भएर आउनु भएको छ ।

अब तत्काल फलोअपमा पनि जान नपर्ने जानकारी चिकित्सकले गराएका छन,’ महासचिव पौडेलले भन्नुभयो ।
नेकपा अध्यक्षसमेत रहनुभएका ओलीको स्वास्थ्य स्थिति बुझ्न गत मंगलवार महासचिव पौडेल सिंगापुर जानुभएको थियो । १२ बर्ष अघि मृगौला प्रत्यारोपन गर्नुभएका प्रधानमन्त्री ओली मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेपछि उपचारका लागि भदौ ५ गते सिंगापुर जानुभएको थियो ।