काठमाडौँ, २१ भदौ । प्रदेश स्तरीय लोक सेवा आयोग गठन सम्वन्धमा बनेको विधेयकबारे छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
संविधानको धारा २४४ बमोजिम सङ्घीयता कार्यान्वयनपछि प्रदेशहरूले त्यहाँ आवश्यक कर्मचारी प्रदेश स्वयमले छनौट तथा भर्ना गर्न सक्ने प्रावधान अनुसार प्रदेश लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढेको छ । त्यसका लागि सङ्घीय संसदले प्रदेश लोक सेवा आयोग –(आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ बनाएको छ ।
शुक्रवार राजधानीमा आयोजित प्रदेशसभा सदस्यस्तरीय छलफल कार्यक्रममा प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशस्तरीय लोकसेवा आयोग निस्चित मापदण्डभित्र रही स्वतन्त्र ढङ्गले कर्मचारी छान्ने प्रक्रिया भएको हुनुपर्ने बताउनुभयो ।
प्रदेश मामिला समितिका सभापति माधव पौडेलको सभापतित्वामा आयोजित कार्यक्रममा लोक सेवा विज्ञ तीर्थमान शाक्यले सो आयोगको अध्यक्ष पदका लागि ४५ वर्ष उमेर हद तोकिएकोबारे प्रष्ट पार्दै २० वर्षसम्म निजामति सेवामा विताएका अनुभवी उम्मेवार हुनुपर्ने भएको हो भन्नुभयो ।
प्रदेश ३ का सभामुख सानु श्रेष्ठले प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवामा आवश्यक सम्पूर्ण कर्मचारी प्रदेशले नै लोक सेवाको प्रक्रिया पुरा गरी छनौट गर्न सक्ने बताउनुभयो ।
सुझाव दिने क्रममा निजामति कर्मचारी सङ्गठनका अध्यक्ष पूण्यप्रसाद ढकालले सङ्घीय कर्मचारी र प्रदेश कर्मचारीबीचको सेवा सुविधालगायत सबै समान हुनुपर्ने बताउनुभयो ।
उहाँले हाल लोकसेवाले लिने परिक्षा उत्तिर्ण गरेर निजामती सेवामा प्रवेश पाउने वित्तिकै आफूलाई ठालु ठान्ने प्रवृत्ति भएका कर्मचारीप्रति इङ्गित गर्दै प्रदेश लोक सेवाले कर्मचारीलाई जिम्मेवार नागरिक बनाउन विशेष नियमको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिनुभयो । साथै गैरजिम्मेवार कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सकिने अवस्था पनि सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सभासद नरोत्तम बैद्यले सङ्घीय लोकसेवा आयोगले लिने परिक्षाका लागि खस नेपाली र अँग्रेजी भाषा मात्र तोकेको छ , प्रदेश लोकसेवा आयोगले उक्त भाषालगायत नेपाल भाषा, तामाङ,थामी भाषामा परिक्षा दिन पाउने व्यवस्था पनि गर्नुपर्ने बताउनुभयो ।
साथै प्रदेश लोकसेवा आयोग तीन सदस्यीय आयोग बनाउन सकिने प्रावधानलाई महिला र आदिवासी पनि थपेर पाँच सदस्यीय बनाउनुपर्ने सुझाव पनि दिनुभयो ।
सो अवसरमा प्रदेश–२ का सभासदस्य रचना खड्का, रीता माझीले पनि लोकसेवाको परिक्षामा सोधिने प्रश्नहरू परम्परागत नभई रचनात्मक बनाउदै लैजानुपर्ने सुझाव दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्