विश्व

पुटिन र जेलेन्स्कीबीच टेलिफोन वार्ता



एजेन्सी, २४ भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच लागि टेलिफोन वार्ता भएको छ ।

रूसी सञ्चारमाध्यमहरूका अनुसार उनीहरूले शनिबार राति नयाँ शान्ति वार्ताका लागि टेलिफोन वार्ता गरेको  जनाएका छन् ।

लामो प्रयासपछि शनिबार दुवै देशका गरी ७० कैदीबन्दीहरूलाई आदानप्रदान गरिएपछि उहाँहरूबीच साँझ टेलिफोनमार्फत कुराकानी भएको हो ।

रिहा भएका बन्दीमध्ये २४ जना यूक्रेनी डुङ्गा चालक, यूक्रेनी फिल्म निर्माता ओलेग सेन्टसोभ तथा रूसी–यूक्रेनी पत्रकार किरिलो भाइसिन्स्कीलगायत रहेको यूक्रेनी पक्षले जानकारी गराएको छ भने यूक्रेनले रिहा गरेका रूसी बन्दीहरूबारे जानकारी प्राप्त हुनसकेको छैन ।
यूक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युद्धका क्रममा विभिन्नस्थानबाट नियन्त्रणमा लिइएका बन्दीहरूलाई रिहा गर्ने सहमति कार्यान्वयनको बिषयमा दुवै देशका नेताहरू सन्तुष्ट देखिएका उल्लेख गरेको छ ।

रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रियाअन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा उनीहरूलाई शनिबार अवतरण गराइएको थियो ।

यसैबीच, कैदीहरूको आदानप्रदान गर्ने रूस र यूक्रेनको निर्णयलाई अमेरिका, जर्मनी र फ्रान्सलगायतका विश्वसमुदायले प्रसंशा गरेका छन् ।