भक्तपुर, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले तिव्र विकासको गतिमा भक्तपुर नेपालकै नमुना जिल्लाको रुपमा स्थापित हुँदै गएको बताउँदै आगामी तीन चारवर्षभित्रमा भक्तपुर हेर्न तथा देखाउन लायक ठाउँको रुपमा विकसित हुने बताउनुभएको छ ।
सूर्यविनायक नगपालिका वडा नं. ७ स्थित भौरवी आधारभुत विद्यालयको नेपाल सरकार राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरद्वारा नवनिर्मित ४ कोठे पक्की भवनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विकास खुला किताव जस्तै भएकाले जनप्रतिनिधिले के के विकास भयो ? भनि विश्लेषण गरिरहनुपर्ने आवश्यकता नरहेको बताउँदै जनताको नजरमा विकासको इतिवृत्रान्त रहेको बताउनुभएको छ ।
वर्तमान जनप्रतिनिधिले भक्तपुरको विकास गर्दिन भने पनि जनताले विश्वास नगर्ने बताउँदै सांसद बस्नेतले वर्तमान जनप्रतिनिधिले विकास र समृद्धिको ढोका खुल्ला गर्दै जनताको तिव्र विकास प्रतिको चाहना वर्तमान निर्वाचित जनप्रतिनिधि नै भएको बताउनुभयो ।
भक्तपुरमा साना साना विकासका आयोजना मात्र नभई राष्ट्रिय गौरवका आयोजना समेत निर्माणको प्रकृयारमा रहेको आम भक्तपुरवासी नागरिकलाई स्पष्ट रहेको बताउँदै स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, आधुनिक सभागृह, सडक, ढल, खानेपानीलगायतका विकास कार्यहरु जनताको चाहना र आवश्यकता अनुसार भइरहेको बताउनुभयो ।
ठूलो पर्यटकको आकर्षणको केन्द्र बन्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले अबका दिनमा विगतका कुराबाट पाठ सिक्दै वर्तमान समयको आवश्यकता तथा माग अनुसार उत्पादन, वितरण, रोजगारी, व्यवसायीकलगायतका कुराहरुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
भुकम्प पछि विद्यालयको क्षेत्रमा भक्तपुरले ठूलो सफलता हासिल गरेको बताउँदै उहाँले अब केही समयमा नै भक्तपुरका कुनै पनि सामुदायीक विद्यालय कच्चि भवनमा छैन, सवै पक्की तथा सुविधा सम्पन्न भवनमा सञ्चालित हुने समेत बताउनुभयो । शिक्षामा भक्तपुरले ठूलो उपलब्धी हासिल गरेको बताउँदै उहाँले आगामी दिनमा भक्तपुरका सामुदायीक विद्यालयलाई प्राविधिक तथा सूचनामैत्री बनाउने प्रकृया अघि बढिसकेको जानकारी गराउनुभयो ।
बोलेर मात्र नभई बोलेको कुरालाई व्यवहारले लागु गर्नुपर्नेमा जोड दिँदै उहाँले हरेक समस्या समाधान लिएर आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामुदायीक विद्यालयमा जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोरा छोरी नपढाउने भन्ने आलोचना भइरहेको समयमा गुण्डुमा भने जनप्रतिनिधि तथा कर्मचारीले सामुदायीक विद्यालयमा नै पढाउन शुरुवात गर्नुभएको छ । जसको उदाहरणको लागि सुनिता देउजा र रविन्द्र सापकोटालाई लिन सकिन्छ । उहाँहरुको जस्तै सवैले फराकिलो मन बनाई सामुदायीक विद्यालयको विकास र विस्तारमा लाग्नु अहिलेको आवश्यकता हो ।’
विद्यालयलाई गुणस्तरिय बनाउँदै मानिसको जीवनसँग जोडिएका कुराहरुलाई व्यवहारमा प्रयोग हुने प्रकारका आधुनिक तथा प्रविधियुक्त शिक्षा अहिलेको अपरिहार्यता रहेको बताउँदै उहाँले सार्वजनिक, नीजि र साझेदारी कार्यक्रमको माध्यमबाट शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने धारणा प्रस्तुत गर्नुभयो । जीवन उपयोगी शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले व्यवहारिक कुरामा अविभावक तथा विद्यार्थीलाई समेत शिक्षा दिई चेतनाको विकास गराउनु आवश्यक रहेको समेत औल्याउनुभयो ।
प्रदेश नं. ३ का सांसद शसीजंग थापाले विद्यार्थी भन्दा शिक्षाक शिक्षिकाको संख्या धेरै हुने प्रवृत्तिको सूर्यविनायक नगरपालिकामा अन्त्य भएको बताउँदै सामुदायीक विद्यालयको प्राविधि, गुणस्तरिय तथा व्यवहारिक शिक्षामा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले राज्यले सामुदायीक विद्यालयमा ठूलो बजेट खन्याउन तर अविभावकले नीजि विद्यालयमा ठूलो बजेट खन्याउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षाको विकास नै समृद्धिको आधार रहेको बताउँदै उहाँले सूर्यविनायक नगरपालिकामा ३४ वटा सामुदायीक विद्यालयहरु सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।
सूनपा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले व्यवस्थित सामुदायीक विद्यालय सञ्चालनको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै जननिर्वाचित प्रतिनिधि आएपश्चात सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या तिव्र गतिका साथ वृद्धि गराउँदै लगेको बताउनुभयो ।
जिल्ला कार्यान्वयन इकाइका प्रमुख भरत श्रेष्ठले भक्तपुरमा भुकम्पका कारण ९७ वटा विद्यालयहरु भत्कीएकोमा ३२ वटा पुनिर्माण सम्पन्न भईसकेको, ३५ वटा निर्माणको करिव अन्तिम चरण्मा रहको र अन्य विभिन्न कारणले निर्माण गर्न नसकिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडा नं. ७ का वडा सदस्य अर्जुन खतिवडा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमनाथ पोखरेल, सूनपाका उपसचिव सरिता दंगाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै प्रधानाध्यापक राजकुमार बस्नेतले उक्त भवन कार्यान्वयन इकाइको ६९ लाख ६९ हजार ६ सय र स्थानीय जनश्रमदानबाट ६ लाख ३६ हजार १ सय तीन रुपैंयाको लागतमा निर्माण सम्पन्न गरिएको जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्