काठमाडौँ, २ असोज । महानगरीय प्रहरी वृत्त बानेश्वरको विशेष टोलीले करीव सवालाख रुपैयाँसहित १० जना जुवाडेलाई बुधबार साँझ पक्राउ गरेको छ ।
उक्त वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मी नेतृत्वको टोलीले काठमाडौं महानगरपालिका वडा नं ३१ संगमचोकस्थित एक घरको फ्ल्याट भाडामा लिएर जुवा खेलाईरहेको अवस्थामा विशेष सुराकीको आधारमा प्रहरीले छापा मारेको थियो । सो जुवा खालबाट दुई महिला र आठ पुरुष पक्राउ परेका छन् ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार अपरेसन चलाएको प्रहरीले उक्त जुवाखालबाट नगद एक लाख तेईस हजार आठ सय पैतिस रुपैयाँसहित १० जनालाई पक्राउ गरिएको डिएसपि रेग्मीले बताए । जुवा खालबाट प्रहरीले १२ थान मोवाइल, ६ थान पर्स, ब्लु बुक, एकथान नवकान्तिपुर सहकारीको डिपोजिट बुक, १३ बुक तास, एक थान महिलाको ब्याग लगायतका सामग्री पनि वरामद गरेको छ ।
‘घरजग्गा कारोवार गर्छौ भन्दै फ्ल्याट भाडामा लिएर जुवा खेलाउने गरेको सुचनापछि छापा मारेर पक्राउ गरेको र उनीहरुलाई जुवा ऐन अनुसार कारबाही हुने डिएसपी रेग्मीले बताए । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्