Banner News

लोकतान्त्रीक व्यवस्थालाई कमजोर पार्ने काम सैह्य हुँदैन : मन्त्री बाँस्कोटा



मोरङ, २ असोज । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जनताको बलिदानीबाट प्राप्त लोकतान्त्रीक व्यवस्थालाई कमजोर पार्ने काम सैह्य नहुने बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपाल मोरङद्वारा बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सामन्ती व्यवस्थालाई पराजित गरेर स्थापना गरिएको यो व्यवस्थाको रक्षा जनताले नै गर्ने धारणा राख्दै मन्त्री बाँस्कोटाले सरकार दिगो विकासका लागि योजनाबद्ध भएर अघि बढिरहेको छ भन्नुभयो ।

उहाँले संविधानले जनताका सुरक्षा, सम्मान र सामाजिक न्यायलाई सुनिश्चित गरेको बताउनुभएको छ । उहाँले रोजगारी सिर्जना गर्न उत्पादन बढाउनुपर्ने भन्दै सुदृढ अर्थतन्त्रको जग बसाल्न वर्तमान सरकारले शुरु गरिसकेको विचार व्यक्त गर्नुभयो । उहाँले परिवर्तनका लागि जोखिमपूर्ण यात्राबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

अहिले मुलुकमा समृद्धिको यात्रालाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गर्नुभएको स्मरण गराउँदै एक वर्षमा एक हजार मेघावाट बिजुली वृद्धि भएको जानकारी दिनुभयो ।

उहाँले विगतको भन्दा अहिले निर्यात बढेको दावी गर्दै सरकार सबै राष्ट्रसँगको सम्बन्धलाई सुदृढ र विकसित गरेको छ भन्नुभयो । उहाँले नेपाली जनताका भविष्य र सपनालाई अुनबन्धित एवं सुनिश्चित गरेको यो संविधान दिवसले देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायलाई स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले लोकतन्त्रलाई सबलीकरण गर्ने सञ्चारमाध्यम सधैँ जागरुक हुनुपर्ने बताउँदै वर्तमान प्रणालीलाई बलियो बनाई आर्थिक र सामाजिक रुपान्तरणमा गति दिन सबैलाई आग्रह गर्दै मन्त्री बाँस्कोटाले संविधान कुनै दल विशेषको मात्र नभएर सबैको हो स्पष्ट पार्नुभयो ।