राजनीति

क्षत्री समाजका पदाधिकारीद्वारा संस्कृति मन्त्रीलाई ज्ञापनपत्र : घटस्थापनामा विदा दिन आग्रह



काठमाडौँ, ५ असोज । विगतका सरकारले दिँदै आएको दशैंको विदामा वर्तमान सरकारले व्यापक कटौति गरेपछि क्षत्री समाज नेपालले घटस्थापनाको विदा कटौति नगर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

क्षत्री समाज नेपालका केन्द्रीय महासचिव केशबहादुर केसी, केन्द्रीय उपाध्यक्ष खेमकुमारी खड्का, केन्द्रीय सदस्य उद्धव खत्री (बद्री), क्षत्री समाज काठमाडौं जिल्ला अध्यक्ष रिजन खड्का र सचिव देवदूत अधिकारी सहितको टोलीले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेर सो ज्ञापनपत्र बुझाएको हो ।

८१ प्रतिशत हिन्दु धर्मावलम्वीहरु रहेको नेपालमा हिन्दुमात्रको महान पर्व वडा दशैंको नवरात्रीको पहिलो दिन अर्थात घटस्थापनाको दिनको विदा कटौती गर्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै क्षत्री समाजको टोलीले धार्मिक र ऐतिहासिक महत्व बोकेको घटस्थापनाको दिनमा विदा दिन मन्त्री भट्टराईसंग आग्रह गरेको हो ।

मन्त्री भट्टराईले यसबारे आफुले आवश्यक पहल गर्ने विश्वास दिलाएको क्षत्री समाजका काठमाडौं जिल्ला अध्यक्ष रिजन खडकाले बताए ।