काठमाडौं, ७ असोज। चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा जारी सम्मेलनमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको ‘ उपस्थतिमा आज दुई पार्टीको बिदेश बिभागबीच संझौतापत्रमा हस्ताक्षर भएको हो । अध्यक्षद्धयको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौं आएको थियो । चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको हो । चिनियाँ टोली र नेकपाबीच सोमबार ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रमको उद्घाटन भएको थियो ।
उक्त कार्यक्रम आज पनि जारी रहेको छ । सोही अवसरमा समृद्धिको सपना पूरा गर्न चीन र नेपालका सत्तारुढ कम्युनिस्ट पार्टीबीच सहयोग आदान प्रदानबारे संझौता भएको हो ।
समझदारी पत्रमा रहेका ६ बुँदा यस्ता छन्–
१ उच्चस्तरीय भ्रमण
२ कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३ पार्टी९पार्टी अनुभव आधारित सहयोग आदानप्रदान
४ युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान
५ जनस्तरको सम्बन्ध बुद्धिजीवी, नागरिक संस्था, मिडिया अभिवृद्धि
६ विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन
प्रतिक्रिया दिनुहोस्