राजनीति

मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने



काठमाडौँ, ११ असोज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दसैंको मुखमा उपभोक्तालाई मार पर्ने गरी अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन ।

उनले वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन व्यवसायीलाई आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले व्यवसायीसँग छलफल भइरहेकाले शनिबारसम्म मासुको मूल्य पुरानै कायम हुने विश्वास व्यक्त गरे ।

दसैंको पूर्वसन्ध्यामा खसीको मासुको मूल्य एक सयदेखि दुई सय रुपियाँ वृद्धि भएर प्रतिकेजी एक हजार चार सय रुपैयाँसम्म पुगेको छ ।मासुको अभाव हुन नदिन तीन हजार खसी र च्याङ्ग्रा भित्र्याइएको जानकारी दिँदै मन्त्री यादवले मूल्य स्थिर नरहे अन्य उपभोग्य वस्तुजस्तै मन्त्रालयले मासु पनि आफैं बिक्रीवितरण गर्ने बताए । यो समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।