भक्तपुर, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिको सवै ढोकाहरु खुल्ला गरिसकेको बताउँदै मुलुकको विकासको धागो दह्रो हुँदै गएकाले आगामी दिनमा कसैले पनि विकासको धागो चुडाउन नसक्ने बताउनुभएको छ ।
सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा मानवीयताको कुनै सिमा हुँदैन भन्ने मुख्य नाराका साथ भक्तपुरमा मानव सेवा आश्रमको शाखा उद्घाटन तथा गृह प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको एक मात्र लक्ष्य जनताको चाहना र आवश्यकता अनुसार समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता पुर्याउने भएकाले सवैले साथ र सहयोगको आवश्यकता रहेको औल्याउनुभयो ।
एजेण्डा विहिन भएपछि प्रतिपक्षि दल जे भेट्यो त्यही समाएर हिड्न थालेको बताउँदै उहाँले प्रतिपक्षि तथा केही अराजक तत्वहरु लोकतान्त्रीक गणतन्त्रीक व्यवस्थालाई नै धावा बाल्न थालेको बताउनुभयो । युवाहरुले अनावश्यक रुपमा सामाजिक सञ्जालको दुरुपयोग गरी आफ्नो समय आलोचनामा नै विताउने गरेको जसले गर्दा राम्रा कुरालाई छायाँमा पार्दै नराम्रा कुराहरुको हल्लाको खेती गरेको बताउँदै उहाँले भन्नुभयो, ‘ प्रतिपक्षिले विभिन्न बहानामा बाहिर जे देख्यो त्यही समाएर जुलुस लगाउने गरेका छन् । समस्या नभए पनि समस्या बनाएर हल्ला फैलाउने गरेका छन् । अनावश्यक रुपमा डेंगुको हल्ला गरियो, जुलुस लाईयो । लामखुट्टेले थाहा पाउँछ जुलुस लगाएको भनेर ?’

विभिन्न प्रकारका आतंक र हल्ला फैलाएर सरकारले गरेका राम्रा कामलाई छोप्न विभिन्न बहानामा केही युवाहरु सामाजिक सञ्जालमा खेती नै गरिरहेको बताउँदै उहाँले त्यस प्रकारका हल्ला फैलाई समाजलाई भ्रममा राख्ने प्रयास गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो, ‘बुबाआमाले दिएको पैसाले खाएर दिनभर फेसबुक चलाउँदै नकरात्मक सन्देस प्रवाह गर्नेहरुलाई उद्धार आवश्यक रहेको छ । मान्छेको भिडमा खोई मान्छे भन्ने हैन मान्छेको बीचमा मान्छे नै मान्छे रहेको अवास हुने प्रकारको कार्य अघि बढाउनुपर्छ ।’
सरकारले भ्रष्टाचार भएको ठाउँमा गिरफ्तार गरी कारवाही सुरु गरेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले क्याम्पेन चलाएमा एक महिनामा नै सडक मानव मुक्त बनाउन सकिने बताउनुभयो । सामाजिक तथा विकासका काम गर्दा आत्मविश्वास बढेर आउने बताउँदै उहाँले भन्नुभयो, ‘केही लिउँ भन्ने हैन केही दिउँ भन्ने भावनाको विकास अपरिहार्य रहेको छ । बुबाआमाले दिएको पैसा खाएर दिनभर फेसबुकमा भ्रम छर्नेले मुख लुकाएर हिड्ने दिन आयो ।’
मानव सेवाको शुरुवात र अन्त्य आवश्यकता अनुसार हुने र त्यसको कुनै निश्चित समय नहुने बताउँदै प्रधानमन्त्री ओलीले जतिवेला सेवाग्राहीलाई सेवा आवश्यक हुन्छ, त्यो वेला डिउटी सुरु नहुने त कति वेला आवश्यक हुन्छ उक्त समयमा डिउटी समाप्त हुने दुःखद् कार्यको अन्त्यको लागि मानव सेवा उदाहरणीय रहेको औल्याउनुभयो ।
एक करोड अक्षयकोषको स्थापना गर्ने घोषणा गर्दै प्रधानमन्त्री ओलीले उक्त आश्रममा बसेकालाई मासिक तीन हजार दिने घोषणा समेत गर्नभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरका स्थानीय तह तथा जनप्रतिनिधिहरुले नेपाल सरकारको सडक मानव मुक्त देश निर्माण गर्ने योजनालाई सफल बनाउन अहोरात्र खटिरहेको बताउँदै भक्तपुरलाई अब छिटै सडक मानव नभएको जिल्लाको रुपमा घोषणा हुने दावी गर्नुभयो ।
भक्तपुरमा हनुमन्ते नदी सफाई अभियान, अरनिको राजमार्ग सफाई अभियानलगायतका कार्यहरुमा सरकारी, गैरसरकारी संघसंस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सामाजिक संघसंस्था, सामाजिक अगुवा, राजनीतिक दल, स्थानीयवासीलगायतको सहयोगमा राज्यको शुन्य लगानीमा समेत देशकै लागि उदाहरणीय कार्यहरु भइरहेको जानकारी गराउनुभयो ।
भक्तपुरका सवै प्रकारका विकास निर्माणमा प्रशासन, सामुदायीक प्रहरी, नीजि क्षेत्रलगायतकासँग कसरी जोड्ने भन्ने विषयमा विभिन्न प्रकारका कार्यहरु भइरहेको जानकारी गराउँदै उहाँले भक्तपुरमा हुने विभिन्न प्रकारका विकृति, विसंगती, चोरी, डकैतीलगायतका कार्यहरुलाई न्युनिकरण गर्न एकतावद्ध भई अधि बढिरहेको बताउनुभयो ।
जनताको तिव्र विकास प्रतिको चाहनालाई भक्तपुरले क्रमिक रुपमा पुरा गर्दै अघि बढेको बताउँदै उहाँले भक्तपुरका आम नागरिकको विकास प्रतिको चेताना समेत बद्धि भइरहेको बताउनुभयो । भक्तपुरका मानिसले आगामी दिनमा सडक, विभिन्न प्रकारका भौतिक संरचनालगायतका कार्यहरुको निर्माण भन्दा पनि हरियाली, स्वच्छ वातावरण युक्त स्थान, पार्क, सुविधिसम्पन्न सहर, वस्ती, मिर्निङ स्पोर्ट, पर्यटकीय विकासलगायतका कुराहरुको चाहनाको विकास भइरहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आगामी आर्थिक वर्षमा पाँच सय जना सडक मानव वस्न मिल्ने गरिको भवन निर्माण गरिदिने उद्घोष समेत गर्नुभयो । उहाँले महानगरपालिकामा सडक मानव मुक्त बनाउने उद्देश्यका साथ उक्त मावन आश्रमको लागि दुई वटा भवनको भाडा उपलब्ध गराइरहेको समेत जानकारी गराउनुभयो ।
मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले भक्तपुरमा सडक मानव मुक्त बनाउन भक्तपुरका जनप्रतिनिधि अहोरात्र खटिरहेको जानकारी गराउँदै उक्त आश्रम सडक मानवको आधारशिलाको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।











प्रतिक्रिया दिनुहोस्