समाचार

भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपाली



काठमाडौँ, १४ असोज । युनिटी इन्टरनेसनलले अवैध नेटवर्किङ व्यवसाय चलाएर लाखौं नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौं नेपालीलाई ठगेको फेला परेको छ ।

भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चलाएको फेला परेको हो ।

युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो । पश्चिम नेपालमा भारतको सीमानजिकका जिल्लाका युवा दैनिक सयौंको संख्यामा यसका सदस्य बनिरहेका छन् ।

यसको सदस्य बन्न भारतीय रुपैयाँ ६० हजार (९६ हजार रुपैयाँ) शुल्क तिर्नुपर्छ । एकजना सदस्य बनेपछि उसले अरु दुईजनालाई सदस्य बनाउनुपर्ने नियम छ । यो नियमले एउटा नेपाली सदस्य बनेपछि अरुलाई सदस्य बनाउन ऊ आफैं लाग्नुपर्ने हुन्छ । यही कारण सदस्यहरुको संख्या दिनहुँ बढ्दै जान्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।