विश्व

उत्तर कोरिया र अमेरिकाबीचको वार्ता स्टकहोममा



एजेन्सी, २० असोज । उत्तर कोरिया र अमेरिकी अधिकारीहरु उत्तर कोरियाली आणविक कार्यक्रमका विषयमा वार्ता गर्न शनिबार स्वीडेनको स्टकहोम आइपुगेका छन् ।

दुबै देशका वरिष्ट अधिकारीहरु वार्ताका लागि भेला भएका हुन् । उत्तर कोरियाका किम म्योङ गिल र उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरिरहेका छन् । उत्तर कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा यस्तै किसिमका वार्ता सन् २०१८ र यसैवर्षको जनवरीमा पनि स्वीडेनमा भएका थिए ।

उत्तर कोरियाले वार्ताका लागि दबाब सिर्जना गर्न क्षेप्यास्त्र परीक्षण र नयाँ हातहतियारको प्रदर्शनीलाई निरन्तरता दिइरहेको छ । विज्ञहरुले उत्तर कोरियाली यस रणनीतिले केही फाइदा पुगेको बताएका छन् ।

उत्तर कोरियाले गत बुधबार पनि निकै ठूलो रकेट परीक्षण गरेको थियो । संयुक्तराज्य अमेरिकाले पनि वार्ता पुनः शुरु हुने आशा व्यक्त गरेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले गरिरहेका सानातिना हतियार परीक्षणबाट अमेरिकालाई खासै प्रभाव नपर्ने बताउँदै वार्ताका लागि तयारी भइरहेको बताउँदै आएका छन् ।