राजनीति

बजेटका कारणले पूर्वाधार निर्माणमा सुस्तता र ढिलाइ हुँदैन : मन्त्री विश्वकर्मा



पोखरा, २४ असोज । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आज पोखरामा निर्माणाधीन खेल पूर्वाधारको निरीक्षण गर्दै निर्माण कार्यको प्रगति र आवश्यक प्रक्रियाअनुसार नै बजेट निकासा भइरहेकाले पूर्वाधार निर्माण र तयारीको काम रोकिने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।

१३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताउनुभएको छ । सरकारले साग खेलकूदलाई भव्यताका साथ आयोजना गर्ने तयारी गरिरहेको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “बजेटका कारणले निर्माणमा सुस्तता छैन, ढिलाइ हुने स्थिति पनि छैन । समयमै पूर्वाधार निर्माण गरेर प्रतियोगिता भव्य बनाउँछौँ ।” आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने साग देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल सङ्घ प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनकरुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

निरीक्षणमा मन्त्री विश्वकर्मासँगै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायत सहभागी हुनुभएको थियो ।