राजनीति

मन्त्रिपरिषद बैठकका ६ निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २४ असोज । नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद बैठकले असोज १७ गते गरेका निर्णय सार्वजनिक गर्नुभएको छ ।

बिहीबार संचार तथा सूचना प्रविधिमन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद बैठकले गरेका निर्णय यसप्रकार छन्,

१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने दुई अर्ब ७१ करोड १३ लाख रुपैयाँ अनुदान  सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३. आर्थिक वर्ष ०७६-७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।

४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौँ बैठकमा ऊर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।