विराटनगर, २५ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताउँदै देश शान्तिको मार्गमा हिँडिरहेकाले विगतको जस्तो झमेला व्यहोर्नु नपर्ने बताउनुभएको छ ।
प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आज यहाँ ६४औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अपराधमुक्त प्रदेश बनाउने सरकारको सङ्कल्पलाई नेपाल प्रहरीले निष्ठावान् भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पर्यटन, पूर्वाधार र जलस्रोतको क्षेत्रमा व्यापक परिवर्तन आउने भन्दै सुरक्षा बिना देशको विकास हुन नसक्ने भएकाले नेपाल प्रहरी यसमा दत्तचित भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा भोजपुरका प्रहरी जवान खेमनाथ भट्टराईलाई ५० हजार, भोजपुरकै प्रहरी जवान सुरेन्द्र माझीलाई २५ हजार र इलामका प्रहरी जवान मुकुन्द माझीलाई २५ हजार राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रदान गरियो ।
एसइई परीक्षामा उत्कृष्ट हुने प्रहरी परिवारका १० जना विद्यार्थीलाई जनही १० हजारको छात्रवृति पनि प्रदान गरियो । त्यस्तै खेलकूदतर्फ ब्याडमिन्टन र दौडमा विजयी हुने प्रहरीलाई पनि पुरस्कृत गरियो भने प्रदेश प्रहरी परिवार सङ्गठनले अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्