काठमाडौँ, २५ असोज । आज र भोलि राष्ट्रपति सीको भ्रमणको समयमा काठमाडौँको मुख्य सडक प्रयोग नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ ।
महाशाखाले सवारी चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव पनि दिएको छ । ठुला मालबहाक सवारीको हकमा भने दुई दिन रिङरोड भित्र प्रवेश गर्न समेत रोक लगाएको छ । चिनियाँ राष्ट्रपति सी आज साढे ४ मा त्रिभुवन विमानस्थलमा ओर्लिने कार्यतालिका छ । त्यहाँबाट सी कोटेश्वर, नयाँबानेश्वर, माइतिघर, त्रिपुरेश्वर हुँदै ताहाचलस्थित सोल्टी होटल पुग्ने छन् ।
राष्ट्रपति सवार हुनुभन्दा केही घण्टा अगाडिदेखि नै चालकको लागि सडक बन्द गरिने प्रहरीले जानकारी दिएको छ । बेलुकी साढे ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । चिनियाँ राष्ट्रपति सी करिब साढे ७ बजे राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । त्यसैले आज दिनभर सवारी हुने हुँदा ट्राफिक प्रहरीले पनि अत्यावश्यक बाहेक सवारी ननिकाल्न अपिल पनि गरेको छ ।










प्रतिक्रिया दिनुहोस्