राजनीति

सांसद आलम प्रकरण : हत्याको प्रमाण लुकाउन इँटाभट्टा बन्द



काठमाडौँ, २८ असोज । १२ वर्षअघि बम विस्फोटका मृतक तथा घाइतेलाई जलाएको भनिएको इँटाभट्टाको चिनोबानो छैन । त्यो स्थान खेतमा परिणत भइसकेको छ । विस्फोट भएको घरमा कोही बस्दैनन् । जहाँबाट इँटाभट्टाको दूरी करिब ५ सय मिटर छ ।

घटनाको दुई वर्षपछि इँटाभट्टा बन्द भएको थियो। पहिलो संविधानसभा चुनावको अघिल्लो दिन राजपुर फरदवामा बम विस्फोट भएको थियो । प्रमाण लुकाउन मृतक तथा घाइतेलाई भट्टामा जलाएको आरोप निलम्बित सांसद मो अफताब आलमविरुद्ध लागेको छ । रौतहट प्रहरीले आइतबार आलमलाई पक्राउ गरेको छ । अदालत बन्द रहेकाले मंगलबार मात्रै म्याद थप गर्ने प्रहरीको तयारी छ ।

भट्टा सञ्चालक पूर्वसभासद मुस्ताक राजाबाबुको केही वर्षअघि हृदयघातका कारण मृत्यु भएको थियो । उनी आलमका भान्जा हुन् । समाजवादी पार्टीका स्थानीय नेता किरण साहले भट्टाका कामदार अधिकांश भारतीय रहेको र केही आलमकै पक्षमा भएकाले घटना लुकाउन सजिलो भएको दाबी गरे । आलम पक्राउपछि भने पीडितले न्याय पाउने आशा जागेको उनको भनाइ छ । तत्कालीन कांग्रेस नेतृत्वको सरकारका आडमा आलमले प्रमाण नष्ट गरेको आरोप उनले लगाए । त्यस बेलाको घटनाबारे राजपुर फरदवाका स्थानीय बोल्न चाहँदैनन् ।

आफ्ना नेतालाई फसाएको बुझाइ धेरै स्थानीयको छ । आलमका आफन्त शेष वकिलले राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयले बन्द गरेको फाइल राजनीतिक प्रतिशोधमा ब्युँताइएको उनको बुझाइ छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्न २०६९ जेठ १६ गते जिल्ला प्रहरीलाई पत्राचार गरेको थियो । त्यसयता रौतटहमा नौजना प्रहरी प्रमुख फेरिए। उनीहरूले आलमलाई पक्राउ गर्र्न सकेका थिएनन्। पीडितले अदालतको मानहानि मुद्दा दर्ता गराएपछि अदालतले गत चैत ८ मा पत्र पठाएको थियो । त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।समाचार आजको अन्नपूर्ण दैनिकमा लेखिएको छ ।