Banner News

भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न सबै लाग्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौँ, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्ने बताएका छन ।

आज काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ-नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताए ।

उनले भने, ‘जनताका लागि धेरै काम भएका छन् । जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन् ।’

प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि अनुकूल वातावरण बनेको पनि बताए । वर्षातका बेला तराई क्षेत्र डुवान हुँदै आएकोमा भारतसँग कुराकानी गरेर डुवान अन्त्य गर्न पहल भइराखेको ओलीले बता ए। ‘डुवान अन्त्य गर्न गम्भीर वार्ता भारतसँग भइराखेको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन आह्वान समेत गरेका छन ।