विश्व

सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह



एजेन्सी, १ कार्तिक । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ ।

संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो । संसदले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भन्दै राष्ट्रपतिको यस निर्णयबाट सिरिया, इरान र रुसलाई समेत असर पार्ने जनाइएको छ ।

साथै उत्तरपूर्वी सिरियामा रहेका सिरियाली कुर्दिस सैन्यबललाई अलपत्र छाड्नु सही नभएको भन्दै संसदले टर्कीले सिरियाभित्र जारी राखेको सैन्य कारबाही रोक्न पहल गर्नुपर्ने बताएको छ ।

संसदको प्रस्तावमा संसदमा डेमोक्राटिक र रिपब्लिकन दुबै पार्टीका ठूलो संख्याका सांसदहरुको समर्थन रहेको छ । संसदले पारित गरेको प्रस्तावमा कुर्दहरुलाई दिइरहेको सहयोग अमेरिकाले बन्द गर्न नहुनेमा जोड दिइएको छ ।

राष्ट्रपति ट्रम्पको निर्णयका कारण टर्कीका सेनालाई सिरियाली भूमिभित्र कुर्द बहुल क्षेत्रमा आक्रमण गर्न सहज भएको आरोप लाग्दै आएको छ ।