अर्थ

विश्व बैंकको रिपोर्ट : नेपालमा व्यवसाय गर्ने वातावरणमा उल्लेख्य सुधार



काठमाडौँ, ८ कार्तिक । नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण)मा सुधार आएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ । रिपोर्ट अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ औं स्थानमा आइपुगेको छ । अघिल्लो वर्ष ५ स्थानले नेपालको डुइङ विजनेश तल झरेको थियो । डुइङ विजनेश सुधार हुनुलाई व्यवसाय गर्न राम्रो वातावरण भएको मानिन्छ ।

९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ । अघिल्लो वर्ष ५९.७ अंक रहेकोमा ३.५ प्रतिशतले सुधार भएको हो । नेपाल भन्दा छिमेकी मुलुक भारतले राम्रो सुधार गरेको छ । भारत यस अघि १४२ औं स्थानमा रहेकोमा यस वर्ष सुधार भएर ६३ औं स्थानमा उक्लिएको छ । डुइङ विजनेश इनडेक्समा सबैभन्दा शिर्ष स्थानमा न्यूजिल्याण्ड देखिएको छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको छ ।

सबैभन्दा राम्रो सुधार गर्नेमा भने साउदी अरेविया देखिएको छ । नेपाल १६ औं स्थानमाथि उक्लिए पनि धेरै राम्रो सुधार गर्ने देशहरुको सूचीको टप १० मा पर्न सकेको छैन । क्रमश: साउदी अरेविया, जोर्डन, टोगो, बहराइन, ताजिकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत, नाइजेरिया रहेका छन ।